तत्काल बेलीब्रिज बनाएर नाका खुलाउन चीनलाई आग्रह गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीले क्षति पुर्याएको रसुवागढी नाका पुनःसञ्चालनमा ल्याउन चीन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान ल्हेन्दे खोलामा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले मितेरी पुलको पुनर्निर्माण र चीनतर्फको क्षतिग्रस्त सडक मर्मत गरी केरुङ नाका सुचारु गर्न चीनसँग कूटनीतिक समन्वय गर्ने निर्णय गरेको छ ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनबाट फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मितेरी पुलको स्थानमा तत्काल बेलिब्रिज जडान गरेर भए पनि नाका पुनःसञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत चीनसँग समन्वय गरिने बताए । 

त्यसैगरी, बैठकले अवरुद्ध सडक पूर्वाधार तत्काल सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।  साथै, चीनसँगका अन्य वैकल्पिक नाकाहरू सञ्चालनका लागि आवश्यक तयारी थाल्ने निर्णय पनि गरेको छ ।

बैठकले बाढीबाट क्षति पुगेका व्यवसायीका कन्टेनर, सवारी साधन र अन्य सामग्रीको बीमा भुक्तानी लगायतका प्रक्रियामा सहजीकरण गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

Share News