काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ सकिन अब एक साता पनि बाँकी छैन । यो वर्षपनि अघिल्ला वर्षहरूमा झैँ सरकारले पुँजीगत खर्च गर्न सकेन । चालु आवमा सरकारले राजश्व संकलन, पुँजीगत खर्च बढ्ने दाबी गरेपनि नतिजा सन्तोषजनक मान्न सकिन्न ।
सरकारले चालु आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएकोमा हालसम्म १४ खर्ब ६६ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बराबर खर्च भएको छ । जुन कुल विनियोजनको ७८.८४ प्रतिशत हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार असार २५ गतेसम्ममा सरकारको खर्चमध्ये चालुतर्फ ९ खर्ब ६४ अर्ब १ करोड रुपैयाँ बराबरको भएको छ । यो कुल चालु खर्च लक्ष्यको ८४.५१ प्रतिशत हो । चालु आवमा सरकारले ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बराबरको चालु खर्च गर्ने लक्ष्य राखेको थियो ।
त्यस्तै, वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म ३ खर्ब १५ अर्ब ९६ करोड ११ लाख रुपैयाँ अर्थात् ८६.०३ प्रतिशत खर्च भएको छ ।
सबैभन्दा कम पुँजीगत खर्च भएको छ । हालसम्म लक्ष्यको ५२.९६ प्रतिशत अर्थात् १ खर्ब ८६ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ मात्रै खर्च भएको छ । चालु आवमा सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।
सरकारको आम्दानीतर्फ आजसम्ममा १० खर्ब ८६ अर्ब ९१ करोड २२ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ । यो कुल लक्ष्यको ७५.५८ प्रतिशत हो । सरकारले चालु आवको लागि १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य चालु थियो ।
त्यसमा कर राजस्वतर्फ ९ खर्ब ८४ अर्ब २० करोड ५८ लाख रुपैयाँ संकलन भएको छ । यो कुल लक्ष्यको ७६.६४ प्रतिशत हो । चालु आवका कर राजस्वतर्फ १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख रुपैयाँ लक्ष्य राखेको थियो ।
गैर कर राजश्वतर्फ १ खर्ब २ अर्ब ७० करोड ६४ लाख रुपैयाँ संकलन भएको छ । यो कुल लक्ष्यको ७६.०३ प्रतिशत हो । चालु आवको लागि गैर कर राजश्वतर्फ सरकारले १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख रुपैयाँ लक्ष्य राखेको थियो ।
यस्तै, अनुदानतर्फ ५२ अर्ब ३२ करोड ६५ लाख प्राप्त गर्ने लक्ष्य राखेकामा हालसम्म २१ अर्ब ४ करोड ६१ लाख रुपैयाँ संकलन भएको छ । जुन कुल लक्ष्यको ४०.२२ प्रतिशत हो ।