सचिव पुष्करको प्रश्न : ठूला बडाका सन्तानहरू उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताए । यो भाष्य ठूला बडाहरुले फैलाउने गरेको उनको भनाइ छ । ठूला बडाका सन्तानहरु विदेशमा अध्ययन गर्न जाने र उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने तर नेपालमा श्रम नपाएर साउदी, कतार, मलेसिया लगायतका देशहरुमा काम गर्न जाँदा पलायन कसरी हुन्छ ? भन्दै प्रश्न गरे ।

शोसकहरुले आर्थिक अवस्था कमजोर रहेका सोझा, साझा जनताहरुलाई शासन गर्ने संयन्त्रका रुपमा नभइ षड्यन्त्रका रुपमा लिने गरिएको जानकारी दिए । 

उनले भने, ‘एउटा गलत न्यारेटिभ्स नेपालमा के देखिएको छ भने श्रम आप्रवासन, पलायन, पलायन, पलायन भन्ने गरिएको छ । तर हाम्रा रोजगार नपाएका नागरिकहरु साउदी, कतार, दुबई, मलेसियामा गएर काम गर्दा पलायन भएको हुन्छ ? शोसकहरुले एउटा सोझा, साझा, इकोनोमिक सेक्सनका विक रहेको मान्छेहरुलाई शासन गर्ने संयन्त्रको रुपमा होइन, षड्यन्त्रको रुपमा लिएका छौँ । त्यसैले ठूलाबडाहरु जहिले पनि वैदेशिक रोजगारलाई पलायन भन्छ ।’

उनले अध्यागमनको तथ्यांकअनुसार करिव ५५ लाख विदेश गएकोमा ४५ लाख फर्किएर आएको देखिएको बताए । 
 

Share News