हरित उद्यमलाई बजार देऊ : सांसदसँग युवाको आग्रह

काठमाडौं । हरित अर्थतन्त्र र नीतिगत व्यवस्था सम्बन्धी युवाहरूले सांसदहरूसँग संवाद गरेका छन् । जलवायु परिवर्तनले समाज र वातावरणमा परिरहेका असरलाई न्यूनिकरण गर्ने भूमिकामा काम गरिरहेका  युवाहरूले सांसदहरूसँग संवाद गरेका हुन् ।

बागमती प्रदेशका ७ जिल्लाका युवा सञ्जाल गठन काम गरिरहेका युवाहरूले काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । उनीहरू प्लाष्टिकको झोलालाई निशेध गर्न कपडाको झोला उत्पादन गर्नेदेखि दुनाटपरी बनाउने काम गर्दा पनि बजार नपाउँदा समस्या भएको गुनोसो गरेका थिए । हामीले वातावरणलाई मध्यनजर गर्दै वातावरण र हावापानी सुहाउँदो उत्पादन गर्दा पनि बजार पाउन समस्या भएको छ, अब सांसदहरूले हाम्रो कामलाई प्रोत्साहन मिल्नेगरी नीति बनाइदिनुपर्यो भन्दै सांसदलाई प्रश्न गरेका थिए । 

युवाहरूको जवाफमा सांसदहरूले युवाहरूलाई सहज हुने गरी नीति निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । युवाहरू देश छोडिरहेको बेला आफ्नै ठाउँमा वातावरणलाई मध्यनजर गर्दै काम गरिरहेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा बोल्दै सांसद शेर बहादुर कुँवरले युवाहरूले गरेको काम प्रंशसनिय भएको बताए । 

युवाहरूले पर्यावरणलाई ध्यान दिँदै गर्दै सुरु गरेको व्यासलाई बजारसम्म पुर्याउन चुनौती भए पनि प्रयास जारी राख्न आग्रह गरेका थिए । सुरुमा बजार नपाएको सामाग्रीले एक दिन अवश्य बजार पाउने भन्दै निराश नहुन आग्रह गरे । उनले अब वातावरणलाई असर पार्ने भन्दा असर नपार्ने सामग्री प्रयोग गर्न नागरिकलाई सूचित गर्नुपर्ने बताए । 

कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मर बहादुर थापाले युवाहरू विद्यालयलाई प्लास्टिक प्रयोगमा बन्देज गराउने काममा सरिक भएको खुसी व्यक्त गरे । कार्यक्रममा सहभागी अन्य सांसदहरूले युवाहरूले उठाएको कुरा गम्भिर र जाहेज रहेको भन्दै नीति बनाउन सरकारलाई दवाव दिने प्रतिवद्धता व्यक्त गरेका थिए । सिविस नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी युवाहरूले आवश्यक नीति र उत्पादनलाई बजारीकरण गर्न सांसदहरूको ध्यानाकर्षण गराएका थिए ।
 

Share News