व्यापार, प्रविधि र पर्यटन लगानीमा नेपाल-जर्मनीको सहकार्यमा भयो छलफल

काठमाडौं । जर्मन–एशिया प्रशान्त व्यवसायिक संघ र नेपाल–जर्मन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जर्मनीको हम्बर्गस्थित एयरबस कार्यालयमा एक विशेष बैठक सम्पन्न भएको छ । कार्यक्रममा नेपाल–जर्मनीबीचको व्यापार, लगानी र प्रविधि साझेदारीका सम्भावनाहरूबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा जर्मन एशिया प्रशान्त व्यवसायिक संघकी प्रमुख अल्मुट रोबनेरले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै आगामी दिनमा व्यापारिक साझेदारीलाई नवीन ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिइन् । त्यस्तै, दक्षिण एसियाका लागि क्षेत्रीय प्रबन्धक इनेस बुदारिकले दुई देशबीच आर्थिक गतिविधि थप विस्तार गर्न आवश्यक रहेको बताए ।

नेपालका लागि जर्मनीस्थित नेपाली राजदूत महामहिम डा. सैल रुपाखेतीको पहलमा आयोजित कार्यक्रममा उनले नेपाल–जर्मनीबीच लगानीमैत्री वातावरण निर्माण गर्न उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

कार्यक्रममा सन्तोष चन्द्र कुँवरको अध्यक्षतामा संचालित नेपाल–जर्मन उद्योग वाणिज्य संघले पर्यटन, निर्माण, उड्डयन र प्रविधि क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको जानकारी गराएको थियो ।

उक्त कार्यक्रममा १५० भन्दा बढी नेपाली, जर्मन, भारतीय, चिनियाँ, पाकिस्तानी तथा अन्य मुलुकका व्यवसायीहरूको उल्लेखनीय सहभागिता थियो ।

नेपाली उत्पादन ‘बारासिंहे बियर’ को जर्मनीस्थित प्रतिनिधित्व मुस्कान श्रेष्ठ र रवि केसीले गर्दै बियरको विशेषता प्रस्तुत गरेका थिए । साथै, पर्यटन व्यवसायी भोला थापा, दावा छिरिङ शेर्पा र सञ्जय श्रेष्ठ लगायत सहभागीहरूले नेपालमा लगानीका अवसरहरूबारे धारणा राखे ।

कार्यक्रममा एयरबसका हेलिकप्टरहरू सगरमाथा बेसक्याम्पसम्म उड्न सफल भएको विषयलाई जर्मन पक्षले सराहना गरेका थिए । एयरबसका अधिकारीहरूले नेपाली इञ्जिनियरहरूको दक्षता प्रशंसा गर्दै, अन्तर्राष्ट्रिय बोलपत्र प्रणालीलाई पारदर्शी र सहज बनाउन सुझाव दिएका थिए ।

अन्त्यमा, आगामी दिनमा नेपाल–जर्मनीबीचको आर्थिक सहयोग र लगानी प्रवाह थप सशक्त हुने अपेक्षा राखिएको छ ।

Share News