स्वास्थ्यलाई नोक्सान नगर्ने अर्ग्यानिक खाना खाऔँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्सान नगर्ने अर्ग्यानिक खाना खान सुझाव दिएका छन् । सोमबार भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्ताललाई हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै निरोगी नेपालको नारा दिएको बताए । निरोगी नेपालका दुई वटा पक्ष रहेको उल्लेख गर्दै एउटा बिरामी नै हुन नदिने र अर्को बिरामी भएपनि तत्काल उपचार हुने स्थितिको निर्माण गर्ने रहेको बताए ।

निरोगी रहने सम्भावना कम हुँदै गएको भन्दै यस स्थितिमा सुधार गर्न जरुरी रहेको बताए । स्वास्थ्यका लागि खाना खानुपर्ने र सन्तुलित खानेकुरा खानुपर्ने बताए । अरुको उपचार मात्रै गर्ने नभइ आफ्नो स्वास्थ्य पनि ठिक राख्न व्यायाम, प्राणायाम गर्न चिकित्सकहरुसँग आग्रह गरे । 

प्रधानमन्त्री ओलीले भने, ‘अहिले नेपाल सरकारले अघिल्लो पटक नै म प्रधानमन्त्री हुँदा, निरोगी नेपालको नारा दिएको थिएँ । निरोगी नेपालका दुई वटा पक्ष छन् । एउटा बिरामी नै पर्न नदिने मानिसलाई । बिरामी नपर्ने र नहुने अवस्था सिर्जना गर्ने पहिलो कुरा । डाक्टरसावहरुलाई पनि मेरो सुझाव छ । अरुको उपचार गर्ने मात्रै होइन, आफू पनि स्वस्थ रहनुस् ।’

प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको अभियानलाई महत्वका साथ अघि बढाइरहेको बताए । 
 

Share News