राजीनामा दिएपछि गुप्ताले भने - नखाएको विष पनि लाग्दो रहेछ

काठमाडौं । घुस लेनदेन सम्बन्धी अडिओ प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका छन् ।

भू–सम्बन्धी नियुक्ति र कर्मचारी सरुवामा बिचौलियामार्फत भएको भनिएको लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएसँगै चर्किएको चौतर्फी आलोचनापछि गुप्ताले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिएपछि गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक प्रतिक्रिया दिएका छन् । उनले आफू ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार बनेको उल्लेख गर्दै लेखेका छन्, 'कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ ।'

गुप्ताले आफूमाथि लागेको आरोप छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन राजीनामाले सहयोग पुगोस् भन्ने आशा व्यक्त गरेका छन् ।

'अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिएको छु', उनको स्टाटसमा भनिएको छ ।  

Share News