एमालेले ‘दुई पुस्ते अभियान’ सुरु गर्ने, अब सदस्य बन्न परीक्षा दिनुपर्ने

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले ‘दुई पुस्ता सँगसँगै’ नामक नयाँ अभियान सुरु गर्ने भएको छ । पार्टी संगठन विभागको हालै सम्पन्न बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभागका सचिव माधव ढुंगेलले पार्टीले सुरु गर्न लागेको अभियानबारे जानकारी दिएका हुन् ।

विभागको बैठकले पार्टीले निरन्तर सञ्चालन गरिरहेको ‘जरा अभियान’लाई पनि निरन्तरतासहित अगाडि बढाउने निर्णय गरेको छ । सचिव ढुंगेलका अनुसार पछिल्ला विभिन्न अधिवेशनबाट कमिटीमा नपुगेका नेताहरूलाई नयाँ ढंगले समेट्ने र उनीहरूको व्यवस्थापन गरिनेगरी अभियान सञ्चालन गर्ने तयारी गरिएको छ ।

अब कुल जनसंख्याको ६ प्रतिशतलाई पार्टी सदस्य बनाउने र प्रत्येक पटकको सदस्यता नविकरणमा परीक्षा अनिवार्य गर्ने विधि समेत तय गरिने ढुंगेलले जानकारी दिए । साथै साना–साना प्रशिक्षण कार्यक्रम र समुदायस्तरमा जनसंगठन कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि विभागले गरेको छ ।

सचिव ढुंगेलले पार्टीविरुद्ध फैलाइएका अफवाहहरूको कडा प्रतिवाद गर्ने उद्देश्यसहित पनि अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

Share News