काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको अडियो प्रकरणको गम्भीर छानबिनका लागि मन्त्री गुप्तालाई पक्राउ गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भ्रष्टाचारजस्तो गम्भीर विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा गृहमन्त्रालयका निकायहरू मौन बस्नु आपत्तिजनक भएको टिप्पणी गरे ।
सांसद शाहीले विगतमा प्रचलनमा रहेको भनाइलाई व्यंग्यात्मक शैलीमा उद्धृत गर्दै वर्तमान सरकारको भ्रष्टाचारप्रति उदासीनतालाई आलोचना गरे । उनले भने, 'पहिले पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काँसी जानू, न्याय नपाए गोरखा जानू, अब चाहिँ भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा जानू !'
उनका अनुसार एक मन्त्रीको अडियो सार्वजनिक भइसकेको अवस्थामा सिर्फ राजीनामाले समस्या समाधान नहुने स्पष्ट छ । उनले भने, 'मन्त्रीले पैसा बुझाएको अडियो सार्वजनिक भएको छ। राजीनामा दिएर मात्रै हुँदैन, उनलाई पक्राउ गरेर छानबिन गर्नुपर्छ ।'
शाहीले अख्तियारले आफ्नो भूमिका निर्वाह नगरेको भन्दै प्रश्न उठाए, 'हामीले अख्तियार किन बनायौं ? गृहमन्त्रालयअन्तर्गतका युनिटहरू के गर्दै छन् ?'
उनले अन्य मन्त्रीहरूमाथि समेत अनुसन्धानको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए । सांसद शाहीले न्याय र सुशासन सुनिश्चित गर्न राजनीतिक आडमा हुने भ्रष्टाचारप्रति कडा कदम चालिनुपर्ने धारणा राखे ।