काठमाडौं । उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८१/८२ मा अदालतमा परेका मुद्दामध्ये १ हजार २४३ मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालतका सूचना अधिकारी मधुसूदन पन्थीका अनुसार एक वर्षको अवधिमा अदालतमा दर्ता भएका १ हजार ४३ र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ४१४ गरी जम्मा १ हजार ४५७ थान मुद्दामध्ये १ हजार २४३ मुद्दा फर्छ्यौट भएका छन् । हाल २१४ मुद्दा विचाराधीन छन् ।
उक्त अवधिमा कुल सङ्ख्याको ८५.३१ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन्, जुन लक्ष्यभन्दा ४२ प्रतिशत बढी रहेको जनाइएको छ । गत आवमा ८७१ मुद्दा फर्छ्यौट गर्ने अनुमानित लक्ष्य रहेको सूचना अधिकारी पन्थीले जानकारी दिए ।
‘अदालतमा एक वर्ष नाघेका सबै मुद्दा फैसला भएका छन् । बाँकी रहेका मुद्दामा ६ महिना नाघेका ४५ र ६ महिनाभित्रका १६९ मुद्दा छन्,’ उनले भने ।
वार्षिक प्रगति विवरणमा मुद्दा दर्ता सङ्ख्या र फर्छ्यौट सङ्ख्या अदालतको एक दशकयताकै सबैभन्दा धेरै रहेको छ । उपलब्ध तथ्याङ्कलाई हेर्दा आव २०७२/७३ मा ९४९ मुद्दामा ५६५ अर्थात् ५९.५३ प्रतिशत, २०७३/७४ मा ९३१ मुद्दामा ५५४ अर्थात् ५९.५०, २०७४/७५ मा ७८९ मध्ये ६०५ अर्थात् ६७.६७ प्रतिशत मुद्दा फैसला भएका थिए ।
यस्तै, आव २०७५/७६ मा ८०१ मुद्दामा ६०६ अर्थात् ७५.६५ प्रतिशत, २०७६/७७ मा ५८० मुद्दामा ४०७ अर्थात् ७०.१७, २०७७/७८ मा ७८२ मा ५१९ अर्थात् ६६.३६ प्रतिशत मुद्दाको फैसला भएको थियो ।
यसैगरी आव २०७८/८९ मा ९९३ मुद्दामा ६०४ अर्थात् ६०.८२ प्रतिशत, २०७९/८० मा १ हजार ५२ मा ५३३ अर्थात् ५०.६६ प्रतिशत मुद्दा फर्छ्यौट भएका देखिन्छन् । आव २०८०/८१ मा १ हजार ४९९ मुद्दामध्ये १ हजार ८५ अर्थात् ७२.३८ मुद्दा फर्छ्यौट भएको थिए ।
उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीले एक दशक यताकै बढी मुद्दा दर्ता र मुद्दा फैसला गरिएको बताए ।
‘न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार मुद्दा व्यवस्थापन पद्धतिअनुसार मुद्दालाई सरल, सामान्य र विशेष मार्ग गरी तीन प्रकारले विभाजन हेर्ने भन्ने थियो । छ महिना, एक वर्ष र १८ महिनाभित्र फर्छ्यौट गरी सक्नुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार कार्यसम्पादन गरिएको हो । यसरी काम गर्दा एक वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्यमा झरेको छ । छ महिना नाघेका ४५ र छ महिनाभित्रका १६९ मुद्दा विचाराधीन छन्,’ उनले भने ।