काठमाडौं । पर्वतको मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । एक तले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन्
उनकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्ना साथ हाम फालेर बच्न सफल भएको मोदी-३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए । उनका अनुसार स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगि सकेपछि यथार्थ विवरण आउने जानकारी दिए । गए रातीदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।