पार्टीलाई देशकै ठूलो बनाउनु छ, व्यवस्था बदल्न आन्दोलनको विकल्प छैन: अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउने गरी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

झापाको धुलावारीमा राप्रपा मेची नगरको पाँचौँ नगर अधिवेशनमा उनले पार्टी निर्माणमा योगदान गर्न नसक्नेहरू आफैँ किनारा लाग्ने बताए । 

‘पार्टीलाई देशकै ठूलो बनाउनु छ । त्यसका लागि सबैले प्रयास गरौँ । यसमा योगदान नगर्ने र विचार नमिल्नेहरू आफ्नो बाटो लाग्दा हुन्छ,’ उनले भने, ‘भ्रष्टाचार र प्रलोभनमा नपर्ने र विचार मिल्नेहरू मात्र पार्टीभित्र रहन्छन् ।’

अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा लागेका सबै दलका नेताहरूका फाइल खोलेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुदृढीकरणमा उजुरी दिइएको पनि बताए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य खुश्बु ओलीले २०४६ सालपछिका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिइन् । उनले सही पार्टी र सही नेतृत्व भए १० वर्षमा देश बन्ने धारणा राखिन् । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरेन्द्र कुमार खड्का, धर्म, सांस्कृतिक विभाग कोशी प्रदेशका अध्यक्ष ध्रुव शिवाकोटी, झापा अध्यक्ष केशव कुमार ओझा लगायतले मन्तव्य राखेका थिए । अधिवेशनले चन्द्र निरौलाको नेतृत्वमा आगामी चार वर्षे कार्यकालका २१ सदस्यीय नगर समिति चयन गरेको छ ।

Share News