काठमाडौं । विदेशमा बसोबास गर्ने नेपालीहरूको छाता संगठनका रूपमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समिति अहिले विभाजनको संघारमा पुगेको छ ।
विभाजित अवस्थामा रहेको एनआरएनए अन्तर्राष्ट्रिय समितिको प्रभाव अमेरिकाको राष्ट्रिय समितिमा पनि प्रत्यक्ष देखिन थालेको एक एनआरएनए अभियन्ताले बताएका छन् । उनका अनुसार पछिल्लो विवाद राष्ट्रिय समिति निर्वाचनको मितिलाई लिएर सुरु भएको हो ।
दुवै समूहले आ-आफ्नो समूहबाट निर्वाचन समिति बनाएका छन् । डा. केसी समूहको निर्वाचन समितिको नेतृत्व डा. अर्जुन वन्जाडेले गरिरहेका छन् भने महेश श्रेष्ठ समूहको निर्वाचन समितिको नेतृत्वमा वासु फुलारा रहेका छन् । एनआरएनए अमेरिका एनसीसीको निर्वाचनका लागि अहिले दुईवटा निर्वाचन समिति बनेका छन् ।
केसी समूहको निर्वाचन समितिले जुलाई २७ मा निर्वाचन गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ । सो जानकारी एनआरएनए अभियन्ता बाबुराम काफ्लेले दिएका हुन् । उता श्रेष्ठ समूह भने सेप्टेम्बरभन्दा अगाडि निर्वाचन नगर्ने मुडमा रहेको एकजना अमेरिका एनसीसी सदस्यले बताएका छन् । उनका अनुसार एनआरएनए विधानले एनसीसीहरूको निर्वाचन सेप्टेम्बरसम्म गर्न छुट दिएको छ ।

एनआरएनए विवादको पछिल्लो जड २०२३ को अक्टोबरमा भएको अन्तर्राष्ट्रिय समितिको निर्वाचन भएको एक अभियन्ताले बताएका छन् । उक्त निर्वाचनमा डा. बद्री केसी अध्यक्ष निर्वाचित भएका थिए । श्रेष्ठ र शर्माले निर्वाचनलाई अवैधानिक भन्दै बहिष्कार गरेका थिए ।
त्यसपछि २०२५ को मे महिनामा श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भए, तर त्यस निर्वाचनलाई केसी पक्षले अवैधानिक भन्दै अस्वीकार गरेको थियो ।

उक्त विवादको असर अहिले अमेरिकी एनसीसीमा समेत देखिन थालेको अभियन्ता काफ्लेले बताएका छन् । उनका अनुसार यो विवादको असर अब एनआरएनएका विश्वभरिका समितिहरूमा पर्न सक्ने संकेत देखिएको छ ।
