'कुलिङ पिरियड लागू हुनैपर्छ, यसमा कम्परमाइज हुन सक्दैन'

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा काँग्रेसले कम्परमाइज गर्न नसक्ने बताएका छन् । विपी स्मृति दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

राज्य व्यवस्था समितिबाट सर्वसम्मत रुपमा प्रतिनिधि सभामा पठाइएको संघीय निजामति विधेयकमा कुलिङ पिरियडमा दुई वर्षे प्रावधान राखिएको थियो । तर प्रतिनिधि सभाबाट दुई वर्षे समयावधि हटाएर पारित भयो । समितिबाट पठाएको र संसदबाट पारित भएको व्यवस्था अर्कै परेपछि अहिले संसदीय छानविन समिति बनाएर अध्ययन भइरहेको छ । राष्ट्रिय सभामा रहेको विधेयकमा अहिले नेकपा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रस्ताव राखेका छन् । 

तर काँग्रेस यसमा अडिग रहेको काँग्रेस नेताहरुको भनाइ छ । यसमा काँग्रेसले कम्परमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनैपर्ने प्रवक्ता महतले बताए । भूमि विधेयक लगायत महत्वपूर्ण विषयहरुमा एकलौटी लाद्ने काम स्वीकार्य हुन नसक्ने बताए । गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्ने बताए । 

प्रवक्ता महतले भने, ‘कुलिङ पिरियडको बारेमा कुरा छ । यो समितिबाट सर्वसम्मत रुपमा अघि बढेको हो । यसमा नेपाली काँग्रेसले कम्परमाइज गर्न सक्दैन । कुलिङ पिरियड लागू हुनैपर्छ । अरु जुन महत्वपूर्ण भूमि विधेयक लगायत महत्वपूर्ण विषय छन्, त्यसमा समग्र छलफलबाट मात्रै एउटा निष्कर्षमा पुग्न सकिन्छ । एकलौटी त्यसमा लाद्ने कुरा स्वीकार हुन सक्दैन । पार्टी र व्यक्तिप्रति लोयल मान्छे हामीले खोजिरहेका छैनौँ । यसलाई गम्भीरताका साथ लिन आवश्यक छ ।’

प्रवक्ता महतले झुटो बोलिरहेकाहरु नै सत्य हो जसरी समाजमा स्थापित भइरहेको बताए । नेपाली काँग्रेस सत्यको पक्षमा रहेको जानकारी दिए ।
 

Share News