कार्गो दिवस साउन १३ गते मनाइने, ढुवानी क्षेत्रको सुधारमा नीतिगत छलफल हुने

काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) को आयोजनामा ३१औं कार्गो दिवस यही साउन १३ गते मंगलबार राजधानीको हायात रिजेन्सी होटल, काठमाडौं मनाइने भएको छ।

‘लजिस्टिक विकास र बीबीआईएन कनेक्टिभिटीका ’ शीर्षकमा केन्द्रित यो कार्यक्रम नेपाल इन्टरमोडल यातायात विकास समिति तथा विभिन्न वायु सेवा प्रदायक कम्पनीहरू, बन्दरगाह व्यवस्थापन निकाय, बैंक, तथा अन्य व्यवसायिक संस्थाहरूको सहकार्यमा आयोजना गर्न लागेको हो ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेफा वरिष्ठ उपाध्यक्ष तथा ३१औं कार्गो दिवसका संयोजक नरेश कुमार अग्रवालले कार्गो दिवसको औचित्य, उद्देश्य र कार्यक्रमका विविध पक्षबारे जानकारी दिए ।

उनका अनुसार कार्गो दिवसको सुरुवात नेफामा आबद्ध सदस्यहरूबिच पारिवारिक सम्बन्ध र भाइचाराको सञ्जाल विस्तार गर्नका लागि गरिएको हो। यद्यपि पछिल्ला वर्षहरूमा लजिस्टिक तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या, चुनौती र सम्भावनाको गहन छलफल गर्ने रणनीतिक थलोको रूपमा यो दिवस स्थापित हुँदै आएको छ।

अग्रवालका अनुसार नेपालमा प्रत्येक वर्ष जुलाई २९ तारिखमा कार्गो दिवस मनाइँदै आएको छ, जुन विश्वव्यापी आपूर्ति श्रृंखला र लजिस्टिक व्यवस्थाको सुदृढीकरणमा नेपालको सक्रिय सहभागिता र प्रतिबद्धता दर्शाउने दिवस पनि हो ।

'नेपालजस्तो स्थलरुद्ध मुलुकमा लजिस्टिक प्रणाली सशक्त हुनु आवश्यक छ,' उनले भने, 'यसले उत्पादन लागत घटाउने, समयमै आयात–निर्यात सुनिश्चित गर्ने र आर्थिक प्रतिस्पर्धा बढाउने काम गर्छ ।'

कार्यक्रम तीन सत्रमा सञ्चालन हुनेछ। पहिलो सत्रमा उद्घाटन समारोहसहित ‘नेफा वार्षिक अवार्ड २०२५’ वितरण गरिनेछ । यो अवार्ड नेपाली लजिस्टिक्स क्षेत्रका विशिष्ट योगदानकर्ताहरूलाई दिइनेछ, जसमा नेफा सदस्यहरू, सरकारी तथा गैरसरकारी संस्था, अनलाइन र अफलाइन एयरलाइन्स, सुख्खा बन्दरगाह सञ्चालक, लामो समयदेखि कार्यरत कर्मचारी र उत्कृष्ट बस्तुगत संघरमहासंघहरू समावेश छन् । साथै, कार्यक्रमलाई सफल बनाउन योगदान दिने निकायहरूलाई मायाको चिनो प्रदान गरिनेछ ।

दोस्रो सत्रमा ‘लजिस्टिक विकास र बीबीआईएन कनेक्टिभिटीका ’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । उक्त सत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा बोर्डका उच्च अधिकारीहरू, एशियन डेभलपमेन्ट बैंक–नेपाल मिशनका प्रतिनिधि, विमान सेवा प्रदायक, सिपिङ्ग कम्पनी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहभागिता रहनेछ । 

सो सत्रमा नेपालमा लजिस्टिक पूर्वाधारको वर्तमान अवस्था, बीबीआईएन (बंगलादेश, भुटान, भारत, नेपाल) सन्दर्भमा कनेक्टिभिटीका सम्भावना, नीतिगत समन्वय, ढुवानी मार्ग विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहज बनाउन आवश्यक पहलहरूबारे गहिरो छलफल गरिनेछ ।

तेस्रो सत्र अन्तर्गत ‘फेलोसिप एण्ड ट्रेड मिट’ कार्यक्रम सञ्चालन गरिनेछ, जसमा सरकारी, निजी तथा अन्तर्राष्ट्रिय लजिस्टिक प्रतिनिधिहरूबिच कार्यपत्र प्रस्तुति, भिडियो डकुमेन्ट्री प्रदर्शनी तथा नेटवर्किङ अवसरहरू प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्गो दिवसले लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्न, नीति निर्माण प्रक्रियामा सरोकारवालाको आवाज समेट्न र आपूर्ति श्रृंखला व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ । संयोजक अग्रवालले भने, 'यो दिवस केवल उत्सव होइन, नीति निर्माणदेखि कार्यान्वयनसम्मको संवाद स्थापित गर्ने साझा मञ्च हो ।'

नेपालजस्तो भूपरिवेष्ठित मुलुकमा ढुवानी सहज बनाउन र अन्तर्राष्ट्रिय बजारसँग नेपाली उद्योगी व्यवसायीलाई प्रतिस्पर्धात्मक रूपमा जोड्न लजिस्टिक्स पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै आयोजकले यस क्षेत्रमा सरकारले ठोस नीति र लगानीका माध्यमबाट सहयोग पुर्याउनुपर्ने आवश्यकता औंल्याएको छ ।

कार्यक्रममा वाणिज्य, उद्योग, पर्यटन, बैंकिङ, बिमा, प्रविधि, उत्पादन र ढुवानी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहनेछ । कार्गो दिवसले नेपाललाई विश्वव्यापी लजिस्टिक नेटवर्कमा मजबुत रूपमा उभ्याउने विश्वास आयोजकको छ ।
 

Share News