भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

काठमाडौं । गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको हो । 

इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार उक्त टिपर भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको हो । टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । 

बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ । 

Share News