पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई नेकपा (एमाले) ले रोकिदिएको छ । मंगलबार (साउन ६ गते) मध्यराति सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले राष्ट्रिय एकता र गणतन्त्रको प्रतिकका रुपमा रहेको तथा राष्ट्रिय गौरवको व्यक्तित्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउँदा यसले गणतन्त्र, स्थापित प्रणाली र संविधानमा असर पर्ने एमालेको निष्कर्ष रहेको सुनाए । पूर्वराष्ट्रपतिलाई गणतन्त्रको प्रतिकका रुपमा सबैले सम्मान गरेको स्पष्ट पार्दै उनले त्यो सम्मान कायम राख्न आग्रह पनि गरे । एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई नेपालको संविधानको धारा ६१ बारे पनि स्मरण गराएको छ ।

प्रचार विभाग प्रमुख गौतमले भने, ‘आज बहुचर्चित भएको, तपाईंहरूको पनि जिज्ञासा भएको, पूर्वराष्ट्रपतिको पार्टी सदस्यता र पार्टी जीवनमा सक्रिय हुने उहाँले जो अभिव्यक्ति दिनुभएको छ, त्यसको सन्दर्भमा त्यसका धेरै आयामहरूमा हामीले छलफल गर्यौँ । संविधानको भाग २८ को धारा २६७ को २ मा नेपाली सेनाको परमाधिपति हुने व्यवस्था गरेको छ । यसको आधारमा पार्टी के निष्कर्षमा पुग्यो भने एउटा, देशको सर्वोच्च राष्ट्राध्यक्ष पदमा पुगेको व्यक्ति, एउटा राष्ट्रिय एकताको सिम्बोल भएको व्यक्ति, संविधानको संरक्षण र पालनकर्ता भएको व्यक्तित्व, नेपाली सेनाको परमाधिपति भएको व्यक्तित्व, साझा व्यक्तित्व, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व राजनीतिक दलको नेता या कार्यकर्ता हुने कुरा हाम्रा स्थापित मूल्य, मान्यताले यो राम्रो हुँदैन ।’

प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले मात्रै नभएर सबै दलले एकताको प्रतिकका रुपमा सम्मान गरेको कुरा पनि स्मरण गराए । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराईले पनि उनलाई सम्मान गरिसकेको स्पष्ट पार्दै राष्ट्रिय एकताको प्रतिक एउटा दलमा आवद्ध हुनेकुरा अमान्य रहेको गौतमको भनाई थियो ।  

उनले भने, ‘त्यसकारण हामीले उहाँलाई दिएको सम्मानमा कुनै पनि कमी गर्न हुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नुपर्छ । उहाँ एउटा राष्ट्रिय व्यक्तित्व, राष्ट्रिय गौरवको व्यक्तित्व, हाम्रो पनि गौरवको व्यक्तित्व, हामीले उहाँलाई गौरवको सिम्बोलको रुपमा सम्मान पनि गरिसकेका छौँ । यसले हाम्रो व्यवस्थामा, जनतामा, प्रणालीमा, संविधानको मर्म र भावनामा पनि यसले असर पार्छ । यसले गलत नजिर र अभ्यास हुन्छ । त्यसकारण पार्टीले सम्पूर्ण रुपमा उहाँलाई दिएको सम्मानका रुपमा अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ ।’ 

प्रचार विभाग प्रमुख गौतमले यो निष्कर्षमा तीनजना नेताहरू उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति व्यक्त गरेको जानकारी पनि दिए । केन्द्रिय कमिटीले ‘सर्वसम्मत’ निर्णय गरिसकेपछि उहाँहरूले उठेर यसमा ‘नोट अफ डिसेन्ट’ राखेको प्रचार विभाग प्रमुख गौतमले बताए । 
 

Share News