काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ।
दोलखाबाट बुधबार ल्याइएको रायो सागमा ८०.९५९० प्रतिशत 'अर्गानोफस्फेट' विषादीको मात्रा पाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
बुधबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १७ वटा पसलबाट संकलित तरकारी तथा फलफूलको नमुना परीक्षण गरेको थियो। परीक्षणका क्रममा रायो सागमा अत्यधिक विषादी भेटिएको हो ।
सरकारी मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी पाइएका तरकारी उपभोग गर्न अयोग्य मानिन्छ, जसअनुसार उक्त रायो साग स्वास्थ्यका दृष्टिकोणले खतरनाक र प्रतिबन्धित मानिएको छ ।
यसअघि पनि, २४ असारमा भक्तपुर र २६ असारमा काभ्रेबाट ल्याइएको तरकारीमा विषादीको अत्यधिक मात्रा भेटिएको थियो ।
विशेषज्ञहरूले पटक–पटक यस्तो विषादी प्रयोगको कारण स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चेतावनी दिँदै आएका छन् । उपभोक्ताहरूले सतर्कता अपनाउनुपर्ने आवश्यकता झनै बढेको छ ।