काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिबाट महिला सदस्य राधाकुमारी पोखरेल बाहिरिएकी छिन् । सञ्चालक समितिको महिला सदस्यबाट राजीनामा दिएसँगै वेबसाइटबाट उनको नाम हटाइएको छ ।
पोखरेलले केही दिनअघि राजीनामा दिएपनि आइतबार मात्रै आफ्नो राजीनामा स्वीकृत भएको बताइन् । आफ्नो स्वास्थ्य अवस्थाको कारणले गर्दा प्राधिकरणमा समय दिन नसकेको कारण खुलाउँदै उनले राजीनामा दिएकी हुन्।
केही दिनअघि राजीनामा गरे पनि प्राधिकरणले वेबसाइटमा भने सञ्चालक समिति सदस्यहरूको विवरण मंगलबार मात्र अद्यावधिक गरेको छ । सञ्चालक समितिमा अध्यक्ष सेवन्तक पोखरेल, सदस्यद्वय मानबहादुर अर्याल र सन्तोष रिजाल मात्र छन् ।
प्राधिकरणको सदस्य पदमा नियुक्त हुँदा धेरैले उनको नियुक्तिमा प्रश्न उठाएका थिए । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयका आधारमा चैत १ गतेदेखि लागू हुने गरी पोखरेललाई विज्ञ महिला सदस्यका रूपमा नियुक्त गरेका थिए ।