सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरूलाई पनि संलग्न हुन नदिने राष्ट्रिय संकल्पप्रति सरकार दृढ र प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

उनले तीनै तहका सरकारका पदाधिकारीहरू कानूनको दायराभन्दा बाहिर नरहेको उल्लेख गर्दै आर्थिक अनियमितता देखिएमा कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढ्ने स्पष्ट पारे । उनले केही मान्छेले प्रधानमन्त्रीको आलोचना गर्ने खालको फेसन बनाएको भन्दै हल्ला गरेकै भरमा छानविन नहुने पनि टिप्पणी गरे ।

उनले भने, ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी हामी सबै दृढ र प्रतिबद्ध छौं । यद्यपि केही मान्छेहरुको फेसन हुने गर्छ  प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाइ नहुने । तिनीहरु कहिले पशुपतिमा पित्तल चलायो भनेर हल्ला गर्छन् । अहिले पनि छानविन होस् भनेर कराउँछन् । तीनै तहको सरकारमा रहेका कुनैपनि व्यक्तिहरु कानूनको दायराभन्दा बाहिर छैनन् । कँही कतै आर्थिक बिचलन र अनुचित व्यवहार देखिएमा कानून बमोजिम कारबाही भइरहेको छ र हुनेछ ।’

उनले भ्रष्टाचारमा संलग्नहरुमाथि सरकार असहिष्णुका साथ आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताए । 

Share News