काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार रेल पूर्वाधार विकासमा गम्भीरतापूर्वक लागिपरेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले मेची-महाकाली विद्युतीय रेलमार्ग र पोखरा–काठमाडौं विद्युतीय रेलमार्गसहित १ हजार ३ सय १७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको जानकारी दिए । त्यस्तै, पोखरा–काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणका लागि स्रोत खोजी गर्न चीनको सहयोगमा प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको उनको भनाइ छ । उनले रेलमार्गको अध्ययन प्रतिवेदनका आधारमा क्रमशः रेल पूर्वाधार निर्माण गर्दै जाने सरकारको योजना रहेको बताए ।
उनले भने, ‘सरकरले रेल पूर्वाधार विकास र विस्तारका लागि तत्कालीन रेल वे निर्माण आयोजनामार्फत मेची महाकाली विद्युतीय रेलमार्ग र पोखरा–काठमाडौं विद्युतीय रेलमार्ग समेत गरी कुल १ हजार ३ सय १७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । अध्ययन प्रतिवेदनका आधारमा निर्माण कार्य क्रमशः अगाडि बढाइनेछ ।’
देशको समग्र आर्थिक समृद्धि र क्षेत्रीय सन्तुलन कायम गर्न रेलजस्तो दीर्घकालीन लगानी परियोजनालाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।