काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अनुमानित आयव्ययको अनुमान नगरसभामा ल्याउन नसकेर आलोचित बनेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री कार्यालयलाई बोधार्थ दिँदै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका छन् ।
साम्पाङले नगर अस्पतालको जग्गा फिर्ताका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका हुन् ।
बोलीचालीको शैलीमा लेखिएको उक्त पत्रमा साम्पाङले धरान उपमहानगरले आफ्नै नगरस्तरीय अस्पताल वनाउन चाहेको जानकारी गराएका छन् ।
उनले पत्रमा लेखेका छन्, ‘यस नगरको जग्गा कुन कुलङ्गारले दलालीमा भुलेर छाता चोकको पुरानो अस्पतालको जग्गा बीपी अस्पताललाई दिई पठाएछ । थाहा भएन । यसरी नगरको जग्गा बीपीमा लान पाइँदैन, प्लिज फिर्ता गराइ दिनुहोला ।’
उक्त पत्र स्वास्थ्य मन्त्रालयलाई पठाइए पनि प्रम कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत बोधार्थ पठाइएको छ ।
