आज प्रतिनिधिसभाको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने, ३ तीन संसदीय समितिका बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधनं) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजै तीन वटा संसदीय समितिका बैठक समेत बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति एवं राष्ट्रिय सभाको  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापनको बैठक बस्दैछ । 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ । प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

Share News