काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलो रहित सडकको मात्रै परिकल्पना नगरेको भन्दै त्यसलाई व्यवहारिक रुपमा सार्थक तुल्याउने काममा सरकार लागेको जिकिर गरे । सरकारले गुणस्तरीय सडक निर्माणमा जोड दिइरहेको पनि बताए । सरकारले पूर्वपश्चिम राजमार्गको सडक स्तरोन्नति गरिरहेको, मध्यपहाडी लोकमार्गको काम पनि भइरहेको जानकारी गराए ।
आवश्यक परेका ठाउँमा नीतिहरु संशोधन गर्ने काममा पनि सरकार लागिरहेको बताए । उनले बजेट निर्माणमा दिनुभएको सुझाव जस्तै प्रभावकारी कार्यान्वयनमा पनि त्यत्तिकै जोड दिन आग्रह गरे । पछिल्लो समय अर्थतन्त्रको सबै सूचकहरुमा सकारात्मक सुधार भइरहेको बताए ।
उपप्रधानमन्त्री पौडेलले भने, ‘गुणस्तरीय सडक पूर्वाधार बिना हामीले हामीले जस्तोसुकै प्रदर्शनीको पनि सही सदुपयोग हुन सक्दैन । त्यसकारणले अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्व दिएको छ । हामीसँग पूर्व-पश्चिम राजमार्ग छँदै थियो । तर त्यो पूर्व-पश्चिम राजमार्गले हाम्रो चित्त बुझेन । हाम्रो आवश्यकता सम्बोधन गरेन । त्यसअर्थ हामीले त्यसलाई स्तरोन्नति गर्दैछौँ ।’
उपप्रधानमन्त्री पौडेलले पौडेलले सडक पूर्वाधार सरकारको प्राथमिकताको विषयमा रहेको बताए । तीन वर्षभित्र सरकारले उच्च प्राथमिकताका साथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने बताए । टुकुचादेखि पश्चिमको भूभागमा रहेका संरचनाहरु भत्काएर अत्याधुनिक, व्यवस्थित र आकर्षक प्रदर्शनी स्थल बन्ने जानकारी दिए ।