देशभर मनसुनको प्रभाव, तराईसहित कोशी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा धेरै र देशका बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । 

लुम्बिनी प्रदेशको तराईलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
    
आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

Share News