सप्तकोशीमा पानीको बहाव खतराको तहभन्दा माथि, २८ ढोका खोलियो

काठमाडौं । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाका अनुसार शनिबार राति ९ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४३० क्यूसेक पुगेको छ । 

मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् । कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । केही दिन देखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।

Share News