सार्वजनिक विदाका दिन पनि भौतिक पूर्वाधार मन्त्री दाहाल र कर्मचारी काममै

काठमाडौं । आइतबार देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार चकमन्न रहयो । मर्मतका कारण मुख्य आवत जावतकोद्वार दक्षिण ढोका पनि बन्द थियो । सिंहदरबार मात्रै होईन, काठमाडौ उपत्यकाका सबैजसो सरकारी कार्यालयहरु सुनसान रहे ।

गाईजात्राको सार्वजनिक विदाका कारण कर्मचारीहरू शुक्रबारै देखि ‘होलिडे’ मुडमा थिए । शनिबार र आइतबार लगातार दुई दिनको विदाका कारण घुमघाममा रुची राख्नेहरुले शुक्रबारको आधादिन काम देखिनै गन्तव्य तय गरेका थिए । 

सिंहदरबार भित्रकै सबै कार्यालयहरु बन्द रहँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने रुग्ण ठेक्का व्यवस्थापनको सघन छलफल चलि रहेको थियो । बिहीबार र शुक्रबार देश भरिका कार्यालय प्रमुखहरु सहित सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादन समिक्षा पछि रुग्ण ठेक्का व्यवस्थापनबारे निरन्तर छलफल भई भएको हो ।

समिक्षा गोष्ठिमा समग्रतामा छलफल भए पनि आयोजना, क्षेत्रीय कार्यालय तथा डिभिजन कार्यालयगत रुपमानै अलग अलग समुह बनाई विदाको दिनमा पनि छलफल भएको हो । विदाका दिन भए पनि मन्त्री देवेन्द्र दाहाल सवा १० बजे मन्त्रालय पुगि सक्नु भएको थियो । मन्त्रालयले रुग्ण ठेक्का व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएकाले विभिन्न जिल्लाबाट कार्यालय प्रमुखहरु आएको समय भएकाले विदाको दिन पनि काम गरिएको उनले बताए ।

‘देश भरिका कार्यालय प्रमुखहरु काठमाडौं आएको समय पारि मसिनो गरि रुग्ण ठेक्का व्यवस्थापनका बारेमा छलफल गरिएको हो’ मन्त्री दाहालले भने, ‘देश भरिका साथीहरु कार्यक्षेत्रमा पनि पुग्नु छ, बजेट कार्यान्वयनका लागि पनि उहाँहरुलाई धेरै दिन काठमाडौमा राख्न उपयुक्त हुँदैन, त्यसैले विदाको दिन पनि हाम्रो प्राथमिकताको विषयमा छलफल गरेका हौं ।’

वार्षिक समिक्षा गोष्ठिमा समेत मन्त्री दाहालले रुग्ण ठेक्का व्यवस्थापन र बेरुजू फस्र्यौटलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए । आयोजनाहरु शुरु हुने तर निर्धारित समयमानै पूरा नभई वर्षौ अलपत्र हुने अवस्थाको अन्त्यका लागि मन्त्री दाहालले कार्यभार सम्हाले देखिनै विशेष चासो राख्दै आएका छन् । 

अन्य मन्त्रालय तथा कार्यालयहरु भन्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यक्षेत्र समेत फरक रहेका कारण विदाका दिन अनिवार्य छुट्टी बस्ने सुविधा नहुने मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन् ।

‘सडकका कर्मचारीले १०–५ काम गरेर पुग्दैन, जुनसुकै बेला पनि फिल्डमा खटिन तयार हुनु पर्छ’ सचिव शर्माले भने, ‘त्यसै गरि चालु आर्थिक वर्षका लागि कर्मचारीहरु कार्यालयमा जानु अघि रुग्ण ठेक्का व्यवस्थापनमा विशेष ध्यान दिँदै निकाशका लागि सहजीकरण गर्न विदाका दिन पनि काम गरिएको हो ।’

चारओटा संघीय सुपरीवेक्षण तथा अनुगमन कार्यालय तथा विभिन्न आयोजनामा रहेका रुग्ण ठेक्का व्यवस्थापनका लागि छलफल गरिएको हो । छलफलमा सडक विभागका महानिर्देशक डा बिजय जैसी, उपमहानिर्देशकहरु, आयोजना प्रमुखहरु तथा विभिन्न कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।
 

Share News