माधवलाई १९ करोडको मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, साथीहरू सत्ताच्युत गर्न खोज्यो भन्दैछन् : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाका कारण मार्गप्रशस्त गर्न सचिवालय बैठकमा राखेको प्रश्तावलाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्यका रूपमा नबुझ्न आग्रह गरेका छन् ।

उनले यस्ता टिप्पणीहरूलाई कच्चापन र बचपनाको संज्ञा दिँदै असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतका कुराहरू नगर्न नेताहरूलाई आग्रह गरे । 

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेपालमाथि भ्रष्टाचार आरोपको मुद्दा छ । यो मुद्दा २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको प्रकरणसँग सम्बन्धित छ । माधव नेपालले २०६६ माघ १८ मा मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलीलाई ८ सय १५ रोपनी जग्गा खरिद गर्न हदबन्दी छुट दिएको र दुई महिना नबित्दै २०६६ चैत ६ मा उक्त जग्गा बेच्न स्वीकृति दिएको आरोप छ । 

यो निर्णय कानूनविपरीत भएको र नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियारले २०८२ जेठ २२ मा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ । नेपालको सांसद पद निलम्वन छ । सोही विषयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सम्मानित नेता खनालले यस्तो किसिमको बच्पना नदेखाउन पनि नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।

पार्टी नेताहरुले उक्त मुद्दा माधव नेपाललाई मात्रै लागेको मुद्दा नभइ पार्टीलाई नै लागेको मुद्दा हो भन्ने टिप्पणी गरिरहेको भन्दै यो गलत रहेको बताए । सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरु गर्नु उचित नहुने उनको भनाइ छ । असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावना विपरितका कुराहरु नगर्न पनि आग्रह गरे । यसले अध्यक्ष नेपाललाई झन बढी समस्या पार्ने जिकिर सम्मानित नेता खनालको छ । 

उनले भने, ‘उहाँले (माधव नेपाल) कसरी पार्टी छोडेर गइदिए हुन्थ्यो भन्ने शब्द खुस्काउनुभयो । म अचम्मित छु । माधव कमरेडलाई यत्रो ठूलो मुद्दा लागेको छ । १९ करोडको मुद्दा लागेको छ । तर कसरी माधव कमरेडलाई बचाउने होला, उहाँको मुद्दालाई अनुकुल कसरी बनाउने होला ।’

उनले अध्यक्ष नेपालमाथि १९ करोड बराबरको मुद्दा लागेको र आफूले उनलाई कसरी बचाउने होला भनेर सोचिरहेको बताए । अध्यक्ष नेपालको मुद्दालाई अनुकुल कसरी बनाउने ? प्रतिवादीलाई कसरी प्रभावकारी बनाउने होला ? भनेर सोचिरहेको उनको भनाइ छ । 
 

Share News