काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा एसी नभएको बताएका छन् ।
आयोगका प्रतिनिधिहरूले कारागारको अनुगमनपछि कारागारमा एसी नभएको बताएका हुन् । साथै उनीहरूले कारागारभित्र आधारभूत सुविधाहरूको अभाव रहेको टिप्पणी गरेका छन् ।
नयाँपत्रिकाले रविलाई आधारभूत सुविधा पनि नदिइकन राखेको समाचार प्रकाशित भएपछि आयोगका प्रतिनिधि रवि बसेको कारागारको अनुगमनमा गएका हुन् ।
यद्यपि अर्को सञ्चारमाध्यम अन्नपूर्णले भने रवि एसीसहितको कोठामा बसेको भन्दै समाचार सम्प्रेषण गरेको थियो ।
दुई सञ्चारमाध्यममा फरक-फरक खालका समाचार सम्प्रेषण भएपछि याे विषयले सामाजिक सञ्जाल तताइरहेको छ । धेरैले मिडियाले विश्वास गुमाउँदै गएकाे टिप्पणी गरेका छन् ।