काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ।
जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले यस्तो आदेश जारी गरेको हो ।
न्यायाधीश सापकोटाको इजलासले आफ्नो भागको बिगो सकारेर थुना बाहिर बस्ने रविको मागबमोजिम नहुने आदेश गरेको हो ।
लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न मागसहित निवेदन दिएका थिए ।
उनले निवेदनसँगै अदालतमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी पनि बुझाएका थिए ।
उक्त निवेदनमाथिको बहसपछि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको हो । उनले जिल्ला अदालत रूपन्देहीमा गत साउन १९ गते निवेदन दिएका थिए ।
लामिछानेलाई रुपन्देही जिल्ला अदालतकै न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले एक करोड धरौटी हुने आदेश गरेको थियो ।
त्यसपछि लामिछाने साधारण तारेख माग गर्दै उच्च अदालत गएका थिए । उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले चैत २२ को पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
त्यसयता उच्चको आदेश बदर माग गर्दै लामिछानेले सर्वोच्चमा पुनः निवेदन दिएका थिए। सर्वोच्चबाटसमेत उच्चको आदेश सदर भएर रवि थुनामै रहेका थिए ।