गत वर्ष सरकारी खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब ८ अर्ब २३ अर्ब ११ करोड रुपैयाँ बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ बराबर खर्च भएको थियो । 

त्यसैगरी, चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् ९ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ, पुँजीगततर्फ ६३.२ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा गरिएको प्रस्तुतिअनुसार वित्तीय व्यवस्थातर्फ ८७.८७ अर्थात् ३ खर्ब २० अर्ब ४ करोड रुपैयाँ बराबर खर्च भएको छ । विसं २०८१ को असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म चालुतर्फ २.९४ प्रतिशत बढी खर्च भएको हो । 

यस्तै, पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६.१५ प्रतिशत बढी खर्च भएको छ । आव २०८१र८२ मा वित्तीय व्यवस्थातर्फ ८७.१४ प्रतिशत खर्च भएको छ । वार्षिक लक्ष्यको कुल ८१.८७ प्रतिशत खर्च भएको देखिएको छ । 

आव २०८१/८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत सङ्कलन भई कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३.०६ प्रतिशत पुगेको छ । आव २०८०/८१ मा कुल राजस्व १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ सङ्कलन भएकामा आव २०८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४.४१ प्रतिशत बढी हो ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.८ प्रतिशतले वृद्धि भएको हो ।
 
आव २०८१/८२ मा कुल आयात १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ, निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबर भएको छ । कुल व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ बराबर भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ ।

Share News