काठमाडौं । रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनमा अधिवक्ता ओमप्रकाश अर्यालले स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन् ।
आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिन लागेका हुन् ।
रुपन्देही निर्वाचनमा अर्यालको प्रवेशसँगै यस क्षेत्रको चुनावी समीकरणमा नयाँ मोड आउन सक्ने अनुमान गरिएको छ ।
प्रमुख प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका मतमा विभाजन हुने सम्भावनाले चुनावी परिणाम अप्रत्याशित हुन सक्ने देखिएको छ ।
स्थानीय राजनीतिक जानकारका अनुसार स्वतन्त्र उमेदवारको रूपमा कानुनी पृष्ठभूमि र स्वच्छ छवि भएका अर्याल युवापुस्ता र मध्यम वर्गका मतदाताबीच आकर्षण बढाउन सक्षम हुन सक्छन् ।।
गुल्मीको अमरपुर स्थायी बसोवास रहेका अर्यालले प्रचारप्रसारमा स्थानीय मुद्दा, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य एजेन्डा बनाउने जनाएका छन् ।