पर्सामा अनुचित लेनदेनसम्बन्धी एक हजार ६८९ उजुरी टुङ्ग्याइयो

वीरगञ्ज (पर्सा) । पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी एक हजार ६८९ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३५८ उजुरी परेका थिए । सोमध्ये चालु आवको साउन २८ गतेसम्मको अवधिमा भने ६३७ मात्रै उजुरी फर्स्यौट गर्न बाँकी छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा आएकामध्ये एक हजार ६८९ थान उजुरी मेलमिलापमार्फत टुङ्गो लगाएको जानकारी दिए ।

यसअघि जिल्ला प्रशासनबाट एक हजार ७२९ मिटर ब्याजसम्बन्धि उजुरी आएका थिए, यहाँको प्रहरी कार्यालयमा पनि छुट्टै ६२९ उजुरी दर्ता भएका थिए । 

उनका अनुसार यसअघि जिल्ला प्रशासन कार्यालयले २२० उजुरी मेलमिलापबाट टुङ्गो लगाएको थियो । प्रहरीले भने एक हजार ४६७ उजुरी टुङ्गो लगाएको छ ।

सूचना अधिकारी लम्सालले मिटरब्याजसँग सम्बन्धित ३२ मुद्दा अदालतमा दर्ता भएको जानकारी दिए । यहाँ मिटरब्याजसम्बन्धी कसुरमा १५ पुरुष र दुई महिला गरी १७ जना पक्राउ परेका छन् । 

पर्सामा मेलमिलापको बिगो भने २८ करोड ५९ लाख ५५ हजार ५५७ रहेको छ । पर्सा प्रहरीले ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराएको छ । 

सूचना अधिकारी लम्सालले अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आएको बताए । 

उनले अनुचित लेनदेनसँग सम्बन्धित उजुरीउपर दुवै पक्षलाई छलफल गराएर टुङ्गो लगाउने प्रयास भइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालयमा २०८१ फागुन १ गतेदेखि अनुचित लेनदेनका उजुरी दर्ता गर्न थालेको हो ।
 

Share News