०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले २०८४ सालको निर्वाचनमा रास्वपाले १९० सिट जित्ने दाबी गरेका छन् । शनिबार काठमाडौंको जडीबुटीमा मेलुङ–सैलुङ सम्पर्क विभागले आयोजना गरेको वृहत् भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद खनालले हालका १९ जना सांसदले नै संसदमा प्रश्न खडा गरिरहेको भन्दै १९० जना सांसद पुगेपछि कांग्रेस र एमालेले झनै दबाब महसुस गर्ने बताएका हुन्।

उनले कांग्रेस र एमालेका सांसदहरूले संसदमा रास्वपामाथि मात्र आक्रमण गर्ने गरेको आरोप लगाए । रास्वपा प्रमुख प्रतिपक्ष दल नभए पनि प्रमुख प्रतिपक्ष दललाई झैँ आक्रमण भइरहेको बताए । 

सांसद खनालले भने- ‘किन कांग्रेस र एमाले संसद्मा हामीलाई मात्रै गाली गर्दछन्, प्रधानमन्त्री,मन्त्री, सांसदहरू अहिले संसदमा हेर्नुभयो भने आज राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै गाली खान्छ, यस्तो देखिँदैछ । आज राष्ट्रिय स्वतन्त्र पार्टी आज देशको प्रमुख प्रतिपक्ष दल नै हो जस्तो भान हुन्छ । तर सङ्ख्याको हिसाबले त होइन । सङ्ख्याको हिसाबले हामी जम्मा २१ जना सांसद हो । त्यसमाथि रविजीलाई निलम्बित गरिदिएका छन् । एक जना उपसभामुख हुनुहुन्छ, बाँकी रहेको १९ जना । १९ जनामाथि यति गाली बर्सिन्छ ।’

सांसद खनालले विदेश जाने विषयलाई अपराधजस्तो बनाएर सामान्य कामदारदेखि वैदेशिक रोजगारीमा जाने युवासम्मलाई दोषी देखाउने काम भइरहेको जिकिर गरे। उनले रास्वपाका कार्यवाहक सभापतिले ट्राभल एजेन्सी चलाएको विषयलाई पनि विपक्षीहरूले अनावश्यक विवाद बनाइरहेको टिप्पणी गरे।

उनले भने- ‘पाँच पाँच जना व्यक्ति मन्त्री हुँदा पनि घुस खायो, भ्रष्टाचार गर्यो भनेर उठाउन सक्दैन । प्रश्न तँ पनि त विदेश घुम्न गएको थिइस् नि । भिजिट भिसा तँलाई नि लागेको थियो नि भन्नेमा प्रश्न उठाइरहेका छन् । हामी तिमीहरूको त घुस खाएको अडियो पो आएको हो त, मन्त्री पदमा बस्न सुहाउँछ । कानुनी प्रक्रिया पुर्याएर विदेश जान खोजेका मान्छेहरूमाथि तिमीहरू दिनको ५० लाख उठाउँछौँ । आफैँ आफैँमा बाँड्छौ, त्यसको छानबिन गर न भन्दा तिम्रा सभापति पनि कुनै दिन विदेश घुमेर आएका थिए भन्छन् ।’

खनालले  भने- ‘यिनीहरूले आजको दिनमा विदेशमा बसेर अर्बौँ रुपैयाँ पठाउने हरेक मानिसलाई दोषी बनाउँदै छन् । किनभने विदेश जानु नै अपराध हो जस्तो भन्दै छन् । हामीले विदेश जानुलाई अपराध भनेको होइन । विदेश जान खोज्दा कानुनी प्रक्रिया पूरा गरेर एयरपोर्ट पुगेका मान्छेलाई पनि अनेक बहानामा दिनको ५० देखि ३ करोड खाइरहेका छौ, उठाइरहेका छौ, बाँडिरहेका छौँ, त्यसको छानबिन गर न, सक्छौँ भने त्यो गर न त, सक्दैनन् ।’

रवि लामिछानेमाथि भएको मुद्दा राजनीतिक षड्यन्त्र भएको पुनः दोहोर्याउँदै उनले कार्यकर्ताहरूलाई विचलित नभई अघि बढ्न निर्देशन दिए। उनको भनाइमा, ‘नेताहरूमाथि आक्रमण हुनु नै सफलताको सङ्केत हो।’

Share News