काँकडभिट्टाबाट ३.६९ अर्बको माल वस्तु आयात, डेढ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा पूर्वी नाका काँकडभिट्टाबाट ३ अर्ब ६९ करोड ४० लाख रुपैयाँ मूल्य बराबरको माल वस्तु आयात भएका छन् ।

यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १९ करोड २ लाख रुपैयाँले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवमा ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा १ अर्ब ५४ करोड २८ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा १ अर्ब ८० करोड ८२ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो ।

कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने १५ करोड १८ लाख रुपैयाँले बढेको छ । गत आव २०८१/८२ को साउन महिनामा १ अर्ब ११ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

Share News