हुण्डीमार्फत पैसा नपठाउन इजरायल र साइप्रसमा रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले इजरायल र साइप्रसमा बसोबास गर्ने नेपालीहरूलाई हुण्डी जस्ता अवैध माध्यमबाट नेपालमा पैसा नपठाउन कडा आग्रह गरेको छ। 

बिहीबार एक सूचना जारी गर्दै दूतावासले यस्ता गैरकानुनी कारोबारमा संलग्न नहुन सबैलाई सचेत गराएको हो ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘इजरायल तथा साइप्रसमा रहेका कुनै पनि नेपालीले हुण्डीको काम नगर्न र अवैध माध्यमबाट रकम ओसारपसार नगर्न अनुरोध गरिन्छ ।’

नेपाल सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि कडा नीति अपनाएको छ । विदेशमा रहेर अनौपचारिक माध्यम (हुण्डी) बाट कारोबार गर्ने वा संकलित रकम नेपाल नपठाउनेहरूको विवरण संकलन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा यस्ता अवैध कारोबारको सूचना विद्युतीय माध्यमबाट पठाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम दूतावासले समय–समयमा यस्ता सूचना प्रकाशित गर्दै आएको हो ।

दूतावासले अवैध हुण्डी कारोबार गर्नेहरूको पहिचान गर्न र त्यस्ता कार्यलाई निरुत्साहित गर्न सर्वसाधारणको सहयोग समेत मागेको छ ।

‘कसैले हुण्डीमार्फत पैसा पठाएको वा कारोबार गरेको थाहा भएमा त्यस्तो कार्य गर्ने र गराउने व्यक्तिको विवरण प्रमाणसहित यस राजदूतावासमा उपलब्ध गराइदिनुहोला,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले सबै नेपाली नागरिकलाई वैध बैंकिङ च्यानलबाट मात्रै नेपालमा रेमिट्यान्स पठाउन र राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउन पुनः स्मरण गराएको छ।

Share News