काठमाडौं । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी यही भदौ १३ गते बाट राजधानीको भृकुटीमण्डपमा हुने भएको छ ।
मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स, एक्जीबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एण्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो ।
प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ सहयोगी संस्थाको भूमिकामा रहनेछन् ।
मिडिया स्पेस सोलुसनस नेपालका अध्यक्ष श्रीजल भट्टराईले यो प्रदर्शनी चौथो पटक हुन लागेको बताए । उनका अनुसार अनुसार यसपटक स्वदेशी तथा विदेशी कम्पनीका १५० भन्दा बढी स्टलहरू रहनेछन् ।
ती स्टलमा उच्च गुणस्तरका अत्याधुनिक प्रविधि भएका ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबल, कन्डक्टर, नवीनतम प्रकारका स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्री प्रदर्शनीमा राखिने छन् ।
नेपालमा बढ्दो जलविद्युत उत्पादनलाई विभिन्न विद्युतीय माध्यममार्फत खपत बढाउने, आयात प्रतिस्थापनमा सहयोग पुर्याउने र ऊर्जा व्यवसायलाई सबल बनाउन महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको उनले जानकारी दिए ।
साथै यस प्रदर्शनीले विद्युत, इलेक्ट्रोनिक्स र होम अपलायन्स उद्योगसँग सम्बन्धित व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई आपसी साझेदारी, अनुभव आदान–प्रदान र नयाँ व्यापारिक अवसरहरू सिर्जना गर्ने विश्वास गरिएको भट्टराईको भनाइ रहेको छ ।
उनका अनुसार दशैंको अवसरलाई लक्षित गरेर आयोजना गरिएको प्रदर्शनीमा उपभोक्ताहरूलाई विभिन्न ब्रान्डका विद्युतीय सामग्री एउटै स्थलमा हेर्न र मनपर्ने सामान खरिद गर्न सक्ने अवसर मिल्नेछ ।
नेपालमा दशैंतिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा नयाँ विद्युतीय सामग्री खरिद गर्ने परम्परा रहेकोले प्रदर्शनीले ग्राहकलाई आकर्षित गर्नेछ ।
प्रदर्शनीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि र वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसाय प्रवद्र्धन गर्ने, नवीनतम उपलब्धीहरूको जानकारी आदान–प्रदान गर्ने तथा उपभोक्तालाई ऊर्जा व्यवस्थापन र दिगोपनाबारे सचेत गराउने लक्ष्य लिइएको उनको भनाइ छ ।
प्रदर्शनी ३ दिनसम्म चल्नेछ ।
नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस प्रदर्शनीले व्यवसायी, उपभोक्ता र नीतिनिर्मातालाई एउटै मञ्चमा ल्याई ऊर्जा र विद्युतीय बजारलाई दीगो बनाउन आधारभूत योगदान गर्ने आयोजकको विश्वास छ ।