गरिब किसानको उत्थानबिना कृषि क्षेत्रको विकास असम्भव : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिब तथा सीमान्तकृत किसानको जीवनस्तरमा सुधार नल्याएसम्म देशको कृषि क्षेत्रले फड्को मार्न नसक्ने बताएका छन्।

मुक्तिनाथ कृषि कम्पनीले आयोजना गरेको एक कार्यक्रममा उनले सरकारको पहिलो प्राथमिकता सडकमा बस्ने र जीविकोपार्जनका लागि संघर्ष गरिरहेका किसान भएको स्पष्ट पारे ।

आन्दोलनरत उखु किसानसँगको भेटघाटका कारण कार्यक्रममा केही ढिला उपस्थित भएका मन्त्रीले आफ्नो पहिलो प्राथमिकता सधैं पीडित किसान नै हुने बताए । 

उनले भने, ‘मैले सडकमा बसेका किसानलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता राखेको छु, त्यसैले केही ढिला भयो ।’

मन्त्रीले नेपालका किसानलाई तीन तहमा वर्गीकरण गर्न सकिने बताए । उनका अनुसार पहिलो तहमा गरिबीको रेखामुनि बाँच्ने किसान, दोस्रोमा आत्मनिर्भर किसान र तेस्रोमा व्यावसायिक किसान पर्छन् । 

‘आत्मनिर्भर किसानलाई त ठिकै छ, तर दूरदराजमा विकल्पहीन भएर बसेका गरिब किसानलाई हामीले कहिले उकास्ने ? हाम्रो मुख्य चिन्ता यही हो,’ उनले भने ।

मन्त्री अधिकारीले एक गरिब महिला किसानको संघर्ष र सफलताको कथा सुनाउँदै भावुक बनेका थिए । उनले धादिङबेसीमा भेटिएकी एक असहाय महिलाको प्रसंग उल्लेख गर्दै भने, ‘श्रीमानले घर नहेर्ने, दुई बच्चा पाल्न धौ(धौ भएकी एक महिला मसँग सहयोग माग्न आइन् । उनको अवस्था देखेर मैले र केही साथीहरूले मिलेर ३५ हजार रुपैयाँ जम्मा गर्यौं ।’

उनले ती महिलालाई पैसा दिएर ुयो पैसाले चामल किनेर खाने होइन, आफ्नो सानो जग्गामा तरकारी खेती सुरु गरु भनेर सल्लाह दिएको बताए । 

‘साढे दुई वर्षपछि आज उनी ओठमा मुस्कानसहित राम्रो ब्लाउज लगाएर हिँड्ने अवस्थामा पुगेकी छिन्,’ उनले भने, ‘हामीले खोजेको र सहयोग गर्नुपर्ने किसान यस्तै हुन् ।’

उनले मुक्तिनाथ कृषि कम्पनीजस्ता संस्थाहरूले यस्तै सीमान्तकृत किसानको पहिचान गरेर सहयोग गर्नुपर्नेमा जोड दिए ।

मन्त्रीले सरकारले किसानको हितका लागि ुकृषि ऐनु ल्याउने तयारी गरिरहेको जानकारी दिए । यद्यपि, सरकारी संयन्त्र देशका ७७ वटै जिल्लाका सबै किसानसम्म पुग्न नसक्ने यथार्थलाई स्वीकार गर्दै उहाँले निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न सरकार तयार रहेको बताए ।

उनले मुक्तिनाथ कृषि कम्पनीजस्ता निजी क्षेत्रका प्रयासहरूलाई सरकारले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

Share News