राजमार्गका १५ मिटरभित्रका संरचना हटाउन १५ दिनको ताकेता

काठमाडौं । सडक सीमा खाली गर्न निर्देशन दिएको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्ज (बाँके) ले १५ दिनभित्र सडक अतिक्रमण हटाउन अल्टिमेटम दिएको हो । 

हुलाकी राजमार्ग नेपालगन्ज-गुलरिया सडकखण्डअन्तर्गत धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको क्षेत्रमा सडक सीमा अतिक्रमण हटाउन निर्देशन दिएको हो । 

कार्यालयका अनुसार सडकको केन्द्र बिन्दुदेखि दायाँ-बायाँ १५/१५ मिटरभित्र विभिन्न व्यक्ति तथा संस्थाले घर, टहरा, पर्खाल, ठेलागाडालगायतका संरचना निर्माण गरी सार्वजनिक सडक ऐन, २०३१ विपरीत अतिक्रमण गरेका छन् । यसले यातायात सञ्चालनमा बाधा पुर्याउनुका साथै सडक सुरक्षामा समेत गम्भीर असर परेको जनाइएको छ ।

उक्त सडक खण्ड विस्तारका लागि अतिक्रमित संरचना १५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना संरचना आफैँ हटाई सडक सीमा खाली गर्न निर्देशन दिएको हो । तोकिएको समयभित्र अतिक्रमण नहटाएमा कार्यालयले प्रचलित कानूनअनुसार बल प्रयोग गरी संरचना हटाउने र त्यसक्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनीसमेत कार्यालयको छ ।

Share News