काठमाडौं । संविधानसभा सदस्य जीप छिरिङ लामाले निर्माण उद्योग हाल गम्भीर समस्यामा परेको बताएका छन् । राजधानीमा शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको विशेष साधारण सभाको उद्घाटन गर्दै लामाले अहिलेको विषम परिस्थितिमा साना ठूला सबै निर्माण व्यवसायी समस्यामा रहेको उल्लेख गरे ।
महासंघका मानार्थ सदस्य तथा पूर्व अध्यक्ष समेत रहेका लामाले निर्माण व्यवसायीहरू एकताबद्ध भएर आफ्नो हक अधिकारका लागि संघर्ष गर्नुपर्ने समय आएको धारणा व्यक्त गरे ।
उनले कांग्रेस तथा नेकपा एमालेजस्ता शक्तिशाली दलको सरकार रहेको वर्तमान अवस्थामा निर्माण उद्योगको समस्या सम्बन्धित निकाय समक्ष ठोस रूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्नो नेतृत्वमा रहेको कार्यसमितिले निर्माण उद्योगको समस्या समाधान गर्न इमान्दार प्रयास गरिरहेको जानकारी दिए ।
अध्यक्ष सिंहले महासंघको वर्तमान नेतृत्वले साना ठूला सबै खालका निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्ने गरी कार्य गरिरहेको बताए ।
‘निर्माण व्यवसायीहरू एक भएर अघि बढेमा निर्माण उद्योगका जस्तोसुकै समस्या पनि समाधान गर्न सकिन्छ,’ उनले भने ।
विशेष साधारण सभा आयोजना गरिएको कारण स्पष्ट पार्दै अध्यक्ष सिंहले महासंघको २६औं साधारण सभा तथा १३औं अधिवेशन २०८२ सालको माघ १५, १६, र १७ गते गर्ने प्रस्ताव पेश भएको जानकारी गराए ।
महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष सन्तलाल हिराचनले अव्यवहारिक ऐन, नियम, दरभाउ वृद्धि, म्याद थपमा देखिएको जटिलता लगायतका समस्याबाट निर्माण उद्योग आक्रान्त रहेको टिप्पणी गरे ।
विशेष साधारण सभामा महासचिव रोशन दाहालले महासंघका अहिलेसम्मका उपलब्धिहरू तथा भावी कार्यक्रमहरू सार्वजनिक गरे ।
कोषाध्यक्ष हिरणकुमार श्रेष्ठले कोष सम्बन्धी प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदन विशेष साधारण सभाले पारित गरेको थियो ।
सभाकै अवसरमा महासंघको प्रकाशन ‘निर्माण समाचार’ को विमोचन प्रमुख अतिथि जीप छिरिङ लामा र महासंघ अध्यक्ष रवि सिंहले संयुक्त रूपमा गरे ।
विशेष साधारण सभामा देशभरका ७७ जिल्लाबाट करिब १ हजार प्रतिनिधिहरूको सहभागिता रहेको थियो। हाल नेपाल निर्माण व्यवसायी महासंघमा २४ हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।