काठमाडौं । काठमाडौं उपत्यकाका पुरानो बसपार्क, भद्रकाली, सहिद गेट, नाग स्थान, न्युरोड गेट, भोटाहिटी, जमल, केशर महल र लैनचौर हुँदै चल्ने सवारी साधन यतिबेला क्युमा चलिरहेका छन् । लैनचौर र केशर महल बीचको सडकमा रहेको खाल्डोका कारण सवारी साधनको गति सीमित हुँदा उक्त स्थानमा क्यु रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार मित्र पार्कबाट सिफलतर्फ जाने भित्री सडकमा पनि खाल्डोका कारण सवारी साधन क्युमा चलिरहेका छन् । सवारी साधनको संख्या बढी भएका कारण सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, जडिबुटी, कोटेश्वर, नयाँ बसपार्क गेट र बालाजु चोकमा पनि सवारी साधन क्युमा चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ । क्यु रहेको स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।
काठमाडौं उपत्यकाका अन्य मुख्य चोकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । विभिन्न नाका हुँदै काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारी साधनको आवागमन भने सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ र नुवाकोटको बेलकोटगढी नगरपालिका ११ मा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ कोदारीमा पनि पहिरो खस्दा सवारी साधन प्रभावित भएका छन् । वीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको काभ्रे भञ्ज्याङ, भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने/आउने माल बाहक बाहेकका सवारी साधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।
कान्ती लोकपथमा पनि बेलुकी ७ बजेदेखि बिहान ६ बजे सम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मनसुन जन्य प्रकोपका कारणले हुन सक्ने जोखिमलाई मध्यनजर गरी सवारी साधनलाई रातको समयमा सञ्चालनमा रोक लगाइएको हो ।