काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले समाजवादको दिशामा अघि बढ्न उद्योगी तथा व्यवसायीको योगदान अपरिहार्य रहेको बताएका छन् ।
नेपाल उद्योग व्यापार महासङ्घले पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी-व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण तथा महासङ्घ केन्द्रीय समितिको आठौँ बैठक उद्घाटन गर्दै उनले समाजवाद स्थापनामा सबैले योगदान गर्नुपर्ने बताए ।
अध्यक्ष दाहालले भने, ‘हामी समाजवाद स्थापनाका लागि अघि बढेका छौँ । सुशासन, सामाजिक न्याय र समृद्धिको मार्ग हुँदै समाजवादमा पुग्ने हो । यसमा तपाई उद्योगी व्यवसायीको योगदान धेरै महत्त्वपूर्ण हुन्छ ।’
अध्यक्ष दाहालले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको बताए । माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा रहेको र ऋण मिनाहा, सहकारी सुधार र तल्लो वर्गको उत्थान पार्टीको प्राथमिकता भएको उनले धारणा राखे ।
अध्यक्ष दाहालले पछिल्लो समय माओवादी घटक, इमानदार कम्युनिष्टबीच एकता र सहकार्य बढ्दै गएको बताए ।