काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपाल एपीएफ अस्पताल बलम्बुमा ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा ल्याएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उक्त इन्स्टिच्युटको उद्घाटन गर्दै नर्सिङ कोर्षको सुरुआतले सशस्त्र प्रहरीको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको बताए । उनले नर्सिङ पेसा स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको तथा स्वास्थ्यकर्मीहरूलाई आधुनिक, विशेषज्ञ, व्यावसायिक सीप प्रदान गर्नुको साथै मानवीय सेवाप्रति समर्पित बनाउन थप मद्दत पुग्ने बताउनुभएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
महानिरीक्षक अर्यालले स्वास्थ्य र शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयलाई सधैँ प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा मेडिकल कलेज समेत सञ्चालन गर्ने योजना रहेको सुनाए ।
नेपाल एपीएफ अस्पतालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक डा. रुपक महर्जनले इन्स्टिच्युटमार्फत आगामी दिनहरूमा थप शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रबाट सञ्चालित उक्त इन्स्टिच्युटलाई गत वैशाखमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आशयपत्र र साउनमा सम्बन्धन दिएको थियो । शैक्षिक सत्रदेखि प्रविणता प्रमाणपत्र तह (नर्सिङ) अध्ययन सुरु गरेको इन्स्टिच्युटमा हालसम्म सःशुल्कतर्फ ३६ र छात्रवृत्तितर्फ ३ गरी ३९ जना विद्यार्थी भर्ना भएका छन् ।