हेभीवेटहरूको गृह प्रदेश कोशीमा २०७९ को मत ट्रेन्ड र २०८२ को चुनावी मोड

काठमाडौं । २०७९ सालको संघीय संसद् निर्वाचनले कोशी प्रदेशको राजनीतिक चरित्रलाई स्पष्ट रूपमा परिभाषित गरेको थियो । समानुपातिक मत परिणामले प्रदेश अझै पनि परम्परागत दलहरूको प्रभावमा रहेको देखाए पनि नयाँ राजनीतिक शक्तिको उदयले भविष्यको चुनावी समीकरण बदलिन थालेको संकेत समेत त्यतिबेलै देखिएको थियो । 

यही पृष्ठभूमिमा २०८२ को आमनिर्वाचन नजिकिँदै गर्दा कोशी प्रदेशको राजनीति पुनः निर्णायक मोडमा उभिएको छ । कोशी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव योगेश भट्टराई सचिवहरू शेरधन राई र भानुभक्त ढकालको गृह प्रदेश पनि हो । यस्तै, नेपाली कांग्रेसका हेभीवेटहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छेदार, डा. शेखर कोइराला पनि यसै प्रदेशका नेता हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि यही प्रदेशका नेता हुन् । हेभीवेटहरूको गृह प्रदेशको समानुपातिक मत परिणामले नेताहरूको प्रभावसमेत देखाउने भएकाले यस प्रदेशको समानुपातिक मत परिणामको विशेष महत्त्वसमेत रहेको छ ।

२०७९ को निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमालेले ६ लाख ४२ हजार ३४ मत प्राप्त गर्दै समानुपातिकतर्फ पहिलो स्थान हासिल गर्यो । यो परिणामले प्रदेशमा एमालेको संगठनात्मक सुदृढता र ग्रामीण र सहरी दुवै क्षेत्रमा फैलिएको मत आधार एमालेको रहेको पुष्टि समानुपातिक मत परिणामले गरेको एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारी बताउँछन् ।

नेपाली कांग्रेस ५ लाख ५५ हजार २२७ मतसहित दोस्रो स्थानमा रह्यो । कांग्रेसको मत परिणामले पार्टी अझै पनि बलियो प्रतिस्पर्धी भएको देखाए पनि अघिल्ला निर्वाचनहरूको तुलनामा मत विस्तार गर्न नसकेको सन्देश दियो । गत आम चुनावको भन्दा यसपटक मत बढ्ने आशामा छन् कांग्रेस प्रदेश सभापति उद्धव थापा ।  उनका अनुसार गत निर्वाचनमा भन्दा बढी मत ल्याउने आधार कांग्रेसको एकमना एकता हो । उनी भन्छन्, ‘कोशीमा हामी अभूतपूर्व एकतासहित निर्वाचनमा होमिएका छौं ।’

गत निर्वाचनको सबैभन्दा उल्लेखनीय पक्ष भनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवेश थियो । पहिलो सहभागितामै रास्वपाले २ लाख १४ हजार ८१० मत प्राप्त गर्दै तेस्रो शक्ति बन्न सफल भयो । यसले कोशी प्रदेशमा वैकल्पिक राजनीतिक धारप्रति बढ्दो आकर्षणलाई देखाउँछ । रास्वपाका स्थानीय नेताहरू यस पटक अघिल्लो निर्वाचनको भन्दा सुधारिएको प्रदर्शन गर्ने बताउँछन् । पार्टीको कोशी प्रदेश समिति सदस्य रहेका निरज कटुवालका अनुसार रास्वपाले कोशीमा राम्रो परिणाम दिनेगरी आन्तरिक रणनीतिहरू तय गरेको छ ।

त्यसैगरी, यस प्रदेशमा तत्कालीन नेकपा माओवादी केन्द्रले १ लाख ८८ हजार ६८२ मत प्राप्त ग¥यो भने राप्रपाले १ लाख ३० हजार ४०३ मत ल्यायो । यी दुवै दलको परिणामले उनीहरूको मत आधार अझै कायम रहे पनि विस्तारमा चुनौती देखाएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार २०७९ को समानुपातिक मत परिणामले कोशी प्रदेशमा तीन तहको राजनीतिक संरचना देखायो । पहिलो तहमा एमाले र कांग्रेसजस्ता ठूला दलहरू, दोस्रो तहमा रास्वपाजस्तो उदीयमान शक्ति र तेस्रो तहमा तत्कालीन नेकपा माओवादी केन्द्र र राप्रपाजस्ता परम्परागत दलहरू रहेको उक्त निर्वाचनले देखाएको तस्विर हो ।

यसले प्रदेशको राजनीति अब केवल दुई दलको प्रतिस्पर्धामा सीमित नरही बहुध्रुवीय बन्दै गएको संकेत समेत दिएको स्थानिय विश्लेषकहरू बताउँछन् ।

बदलिँदो राजनीतिक वातावरण

२०७९ पछि देशले सरकार परिवर्तन, गठबन्धन फेरबदल, नीति विवाद र जनआक्रोशका थुप्रै चरणहरू भोगिसकेको छ । कोशी प्रदेशमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । पछिल्ला सरकारप्रतिको बढ्दो असन्तुष्टि र युवा मतदाताको राजनीतिक चेतनाले २०८२ को माहोल परिवर्तन गर्न सक्छ । साथै नयाँ मतदाताको प्रवेश र सामाजिक सञ्जालमार्फत धारणा निर्माणले पनि निर्वाचन २०८२ लाई अछुतो नछोड्ने निश्चित छ । यी सबै कारणले २०८२ को निर्वाचन २०७९ भन्दा फरक बन्ने सम्भावना बढाएको छ ।

एमालेले २०७९ मा प्राप्त गरेको मत अग्रता अझै पनि उसको बलियो पक्ष हो । तर २०८२ तर्फ जाँदा पार्टीले केही चुनौतीहरू पनि सामना गरिरहेको छ ।

सरकार सञ्चालनप्रति उठेका प्रश्न, युवा मतदाताको बदलिँदो प्राथमिकता र रास्वपाको बढ्दो प्रभावले एमालेको समानुपातिक मतमा स्थिरता वा हल्का गिरावट आउन सक्ने अनुमान स्थानीय नेता तथा कार्यकर्ताको छ ।

तर बलियो संगठन, स्थानीय तहसम्मको पहुँच र परम्परागत मत आधारका कारण एमाले अझै पनि पहिलो स्थानको मुख्य दाबेदार रहने देखिन्छ ।

कांग्रेसले कोशी प्रदेशमा उल्लेख्य मत आधार जोगाइरहेको छ । तर पार्टीभित्रको गुटबन्दी, नयाँ मतको कम आकर्षणले कांग्रेसको मत विस्तारलाई चुनौती दिएको छ । यस प्रदेशमा रास्वपाको प्रवेशले एमालेलाई भन्दा कांग्रेसलाई प्रभाव पार्न सक्ने कांग्रेसको आँकलन रहेको छ । यस प्रदेशमा कांग्रेसले संगठन सुदृढीकरण, स्पष्ट राजनीतिक एजेन्डा र युवा मतदातासँग संवाद गर्न सके मात्र मत वृद्धि सम्भव देखिन्छ । अन्यथा २०७९ को स्तर वरिपरि सीमित हुने वा केही घट्ने सम्भावना प्रबल छ ।

२०८२ को निर्वाचनमा सबैभन्दा धेरै चर्चा हुने दल रास्वपा हुने संकेत देखिन्छ । २०७९ मा पाएको २ लाखभन्दा बढी मत पार्टीको आधार मात्र नभई सम्भावनाको संकेत थियो ।

कोशी प्रदेशका सहरी क्षेत्र, शिक्षित युवा र पुराना दलप्रति असन्तुष्ट मतदातामा रास्वपाको प्रभाव बढ्दो छ । यही कारण २०८२ मा रास्वपाले समानुपातिक मत उल्लेख्य रूपमा बढाउन सक्ने विश्लेषण गरिँदै आएको छ । यदि यही ट्रेन्ड कायम रह्यो भने रास्वपा एमाले र कांग्रेस दुवैका लागि निर्णायक चुनौती बन्न सक्छ ।

राप्रपाको अवस्था भने फरक देखिन्छ । राजसंस्था र सांस्कृतिक मुद्दाको उठानले राप्रपाले २०८२ मा मत हिस्सा विस्तार गर्ने अवसर देखिरहेको छ, विशेषगरी ग्रामीण र परम्परावादी मतदातामा उसले मत विस्तार गर्न सक्ने देखिन्छ ।

२०७९ को समानुपातिक मत परिणामले कोशी प्रदेशमा परम्परागत शक्तिको वर्चस्व देखाए पनि २०८२ तर्फ जाँदा त्यो संरचना केही हल्लिन सक्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ । एमाले र कांग्रेस अझै पनि यस प्रदेशका मुख्य शक्ति हुन् । रास्वपा निर्णायक ‘स्विङ फ्याक्टर’ बन्न सक्छ । यस प्रदेशमा माओवादी कमजोर रहेको र वर्ष २०८२ को निर्वाचनमा अझ कमजोर बन्न सक्छ । यता राप्रपा भने विस्तारको खोजीमा रहेको देखिन्छ ।

यस अर्थमा कोशी प्रदेश अब दुई दलीय प्रतिस्पर्धाबाट बहुध्रुवीय राजनीतितर्फ निर्णायक चरणमा प्रवेश गरेको छ, जहाँ २०८२ को निर्वाचनले प्रदेशको आगामी राजनीतिक मार्गचित्र कोर्नेछ । यो प्रदेशको मत परिणामले नेतृत्वको परीक्षणसमेत गर्नेछ ।

Share News