काठमाडौं । नेकपा एमालेसँगको करिब ५१ वर्ष लामो राजनीतिक यात्रा टुंग्याएर भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेसँगै अछाम–१ को चुनावी माहोल असाधारण रूपमा तातेको छ ।
अछाममा एमालेको राजनीतिक जग बसाल्ने नेताकै रूपमा चिनिएका रावल आज त्यही दलविरुद्ध मैदानमा उत्रिँदा यो निर्वाचन व्यक्ति, विरासत र दलगत रणनीतिको त्रिकोणीय संघर्षमा रूपान्तरित भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट रावलसहित आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । अछाम–१ मा नेकपाका भीम रावलले उम्मेदवारी दिएका छन् ।
रमाइलो त के भने जीवन एमालेमा बिताएका रावल पहिलोपटक एमाले विरुद्ध मैदानमा छन् । रावललाई एमालेबाट काउन्टर गर्दैछन् पूर्व माओवादी नेता दीपकबहादुर साउदले ।
यस्तै, नेपाली कांग्रेसले भरतकुमार स्वाँरलाई उम्मेदवार बनाउदा ओमप्रकाश रावल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मैदानमा उत्रिएका छन् । नेपाल मजदुर किसान पार्टीले सुरेन्द्र शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लोकेन्द्र शाहलाई मैदानमा उतारेका छन् । लोकेन्द्रबहादुर शाही नेकपा माओवादीको उम्मेदवार छन् भने भीमबहादुर कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
०७९ को निर्वाचनमा भीम रावल उम्मेदवार थिएनन् । उक्त निर्वाचनमा पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै अछाम–१ बाट तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर मैदानमा थिए ।
उक्त निर्वाचनमा प्रत्यक्षतर्फ कुँवरले १९ हजार ५३४ मत ल्याएर नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका थिए । उक्त निर्वाचनमा बोहोराले १५ हजार ४५ मत ल्याएका थिए । तेस्रो लोकप्रिय मत स्वतन्त्र उम्मेदवार राजन कुँवरले पाएका थिए । उनले ४ हजार ३९२ मत प्राप्त गरेका थिए । यसपटक भने नेकपाले भीम रावललाई मैदानमा उतारेको छ, जसले समीकरणलाई पूर्णतः नयाँ दिशामा धकेलेको स्थानीय बताउँछन्।
राजनीतिक विरासतका हिसाबले रावल बलिया देखिए पनि संगठनात्मक पक्षमा कांग्रेस र एमाले यसपटक भारी देखिन्छन् । स्थानीय मोती विकका अनुसार अछाम १ मा प्रतिस्पर्धा एमाले र कांग्रेसकै बीचमा हुन्छ । यी दुई पार्टीबीच नै प्रतिस्पर्धा हुने आँकलन विकको रहेको छ ।
गत आमनिर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले १४ हजार ५२५ मत ल्याएर पहिलो स्थान हासिल गरेको थियो । उक्त निर्वाचनमा एमालेले १३ हजार ९३८ मत प्राप्त गरेको थियो । तत्कालीन नेकपा माओवादीले तेस्रो स्थान प्राप्त गर्दा उसले ७ हजार २२८ मत प्राप्त गरेको थियो । रास्वपाले ७८५ मत प्राप्त गरेको थियो ।
कुल १० पालिका रहेको अछामका निर्वाचन क्षेत्र–१ मा साँफेबगर नगरपालिका, मेल्लेख, चौरपाटी, बान्नीगढी जयगढ र रामारोशन गाउँपालिका समावेश रहेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले ४ पालिका प्रमुख जितेको छ भने तत्कालीन माओवादी केन्द्रले १ पालिका प्रमुखमा विजय हासिल गरेको छ । तत्कालीन गठबन्धनमा रहेका कांग्रेस र नेकपा एकीकृत समाजवादीले पूर्ण जित निकाल्दा अछाम १ मा एमाले शून्यको अवस्थामा रहेको छ । ४२ वडामध्ये कांग्रेसले १९, एमाले १३, माओवादी ५, एकीकृत समाजवादी २ र स्वतन्त्रले ३ वडामा जित निकालेका छन् ।
नेकपा उम्मेदवार रावलले राष्ट्रिय छवि र अछाममा गरेको योगदानका आधारमा जित सहज हुने दाबी गर्छन् । रावल स्वयं मतदाताले आफूलाई निर्वाचित गराउनेमा विश्वस्त देखिन्छन् । कांग्रेस उम्मेदवार भरतकुमार स्वाँर मुख्य प्रतिस्पर्धा एमालेसँग रहेको बताउँछन् ।
एमाले उम्मेदवार दीपक साउद जनाधार, संगठन र नयाँ अनुहार आफ्नो बलियो पक्ष भएको दाबी गर्छन् । रास्वपा उम्मेदवार ओमप्रकाश रावल अछाम–१ मा पनि घण्टी बज्ने दाबी गर्दै भन्छन्, ‘यस पटक जित रास्वपाकै हो ।’
अछाम–१ को चुनाव यसपटक प्रतीकात्मक रूपमा पनि रोचक बनेको छ । एमाले स्थापना गराएका भीम रावल आज तारा बोकेर नेकपाको उम्मेदवारको रूपमा मैदानमा छन् । हिजो एमालेसँग ‘कि तँ छैनस् कि म छैन’ भन्दै भिड्ने माओवादीबाट उदाएका दीपक साउद सूर्य बोकेर एमालेका उम्मेदवार बनेका छन् ।
२०७० मा रावलसँग सूर्य थियो, साउदसँग हँसिया–हथौडा । अहिले १२ वर्षपछि प्रतीक उल्टिएका छन् । अछाम–१ को मा टक्कर एमाले र कांग्रेसकै हुने स्थानीय विश्लेषक रतन चुँदाराको दावी छ ।