काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनमा मधेश क्षेत्र राजनीतिको केन्द्रबिन्दु बनेको छ । यहाँ पुराना राजनीतिक हस्ती, युवा नेता, दलका शीर्ष नेताहरू र भावी प्रधानमन्त्रीका दाबेदार आमनेसामने छन् । सर्लाही, सप्तरी, धनुषा र रौतहट लगायतका जिल्ला निर्वाचन २०८२ को इपिसेन्टर जस्तै भएका छन् । यी जिल्लाको निर्वाचन परिणामले केवल एक नेताको हारजितको मात्रै अर्थ राख्दैनन् । ती जिल्लाको परिणामले देशको आगामी राजनीतिक समीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने आँकलनसमेत गरिएको छ ।
यस प्रदेशबाट देशकै राजनीतिक खेलाडी माधवकुमार नेपाल, काठमाडौंबाट मधेश झरेका गगनकुमार थापा र अहिलेसम्म प्रतिनिधि सभाको मुखसम्म देख्न नपाएका नारायणकाजी श्रेष्ठ समेतले मधेशमा आफ्नो भाग्य खोजिरहेका छन् ।
मधेशका रैथाने नेता अनिल झा, महिन्द्रराय यादव, राजेन्द्र महतो , उपेन्द्र यादव समेतले प्रतिनिधि सभा प्रवेशका लागि मधेशका जनतासँग भोट मागिरहेका छन् ।
महाभीडन्तमा पूर्वसहकर्मी
सर्लाही ४ मा कांग्रेस सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमरेशकुमार सिंह आमनेसामने छन् । लामो समयका सहकर्मी थापा र सिंह ह यसपटक एकले अर्कोको बाटो छेक्नेगरी लागेका छन्।
यसकारण सर्लाही ४ यसपालि चुनावी हटसिटको रूपमा चिनिएको छ । लामो समयदेखि कांग्रेसवाटै निर्वाचन जित्दै आफ्नो सिंहदरवार यात्रा सहज बनाउँदै आएका सिंह २०७९ को आम निर्वाचनपछि कांग्रेसबाट बिरक्तिएका नेता हुन् ।
विद्यार्थी राजनितिबाट उदाएका थापा र २०६३ मा सम्पन्न सरकार र माओवादी शान्ति प्रक्रियासँगै राजनीतिक रजतपटमा उदाएका सिंहको संसदीय अनुभव उस्तैउस्तै देखिन्छ । थापाजस्तै सिंहको संसद यात्रा २०६४ को पहिलो संविधान सभाबाटै भएको हो । दुवै समानुपातिक सांसदको रूमा सिंहदरबार प्रवेश गरेका हुन् । २०७० को आमचुनावमा सिंह सर्लाहीबाट र थापा काठमाडौबाट प्रत्यक्ष निर्वाचित भए । दुवैजना तीन÷तीन पटक प्रत्यक्षबाट र एकएक पटक समानुपातिकबाट सिंहदरवारको यात्रा तय गरिसकेका छन् ।
२०७९ को आम निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि सिंह स्वतन्त्र उम्मेदवार भएर प्रतिस्पर्धामा उत्रिएका थिए । उनले नेपाली कांग्रेसका नागेन्द्र कुमारलाई १ हजार ७६४ मतले पराजित गरेका थिए । उक्त निर्वाचनमा सिंहले २० हजार १७ मत ल्याएका थिए भने नागेन्द्रले १८ हजार २५३ मत ल्याएका थिए । उक्त निर्वाचनको समानुपातिकतर्फ १६ हजार २३ मत ल्याएर कांग्रेस पहिलो भएको थियो । जनमत पार्टी १२ हजार ५९५ मतसहित दोस्रो हुँदा ९ हजार ४७१ मतसहित एमाले तेस्रो भएको थियो ।
थापा र यादवबाहेक यस क्षेत्रमा अन्य दलका पनि उम्मेदवार मैदानमा छन् । यस निर्वाचनमा एमालेले उम्मेदवारको रूपमा अमनिष यादवलाई अघि सारेको छ । यादव पूर्वसांसद शिवपुजन यादवका छोरा हुन् । यादवको यस क्षेत्रमा आफ्नै पकेट मत रहेको मधेशका जानकार धिरेन्द्र साहले बताए । यसरी पुराना नेता र शीर्ष दलका सभापतिबीचको आमनेसामने प्रतिस्पर्धाले सर्लाही ४ मा मतदाताको उच्च उत्साह सिर्जना गरेको साहले जानकारी दिए । उनका अनुसार यहाँको मत वितरणले मधेशको आगामी राजनीतिक दिशा निर्धारण गर्न सक्छ ।
सप्तरी २ : सहकर्मीलाई चुनौती
सप्तरी निर्वाचन क्षेत्र नम्वर २ ले यसपालि राजनीतिक प्रतिस्पर्धाको अर्को रूप देखाउने पक्का भएको छ । यस क्षेत्रका प्रमुख उम्मेदवारहरू जनमत पार्टीका अध्यक्ष सिके राउत र स्वाभिमान पार्टीका सतिशकुमार सिंह हुन् । राउत र सिंह निर्वाचन पहिलेसम्म एउटै दलका नेता थिए । राउत जनमत पार्टीका अध्यक्ष र सिंह सोही पार्टीबाटै मधेश प्रदेशको मुख्यमन्त्री थिए ।
जसपा नेपालका उमेशकुमार यादव र कांग्रेसका रामकुमार यादवसहित एमालेका मोहम्मद जियाउल रहमान पनि यसै क्षेत्रका उम्मेदवार हुन् ।
यस क्षेत्रमा जनमुक्तिका राउतलाई आफ्नै सहकर्मीले चुनौती दिएका कारण सप्तरी २ को निर्वाचन रोचक मोडमा प्रवेश गरेको छ । गत निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएका राउतका लागि यो निर्वाचन व्यक्तिगत र पार्टी दुवै दृष्टिले चुनौतीपूर्ण हुनेछ । साहका अनुसार दुई पूर्वसहकर्मीको प्रतिस्पर्धाका कारण मतदाता विभाजित हुन सक्ने सम्भावना छ । जसले अन्तिम नतिजामा अप्रत्याशित मोड ल्याउन सक्ने मधेशका जानकार साहले बताए।
धनुषा ३ : निवर्तमान सांसद र पार्टी प्रभाव
धनुषा ३ मा तीनैजना निवर्तमान सांसद आमनेसामने छन् । यहाँ उम्मेदवारहरू कांग्रेसका पूर्वउपसभापति तथा पूर्वमन्त्री विमलेन्द्र निधि, एमालेका पूर्वमन्त्री जुली महतो र रास्वपाका प्रवक्ता मनीष झा मैदानमा छन् ।
विधायक र सांसदको अनुभव भएका निधि, महतो र झा तीनैजनाको परिचय यहाँका मतदातामाझ व्यापक छ । विघटित संसदमा निधि र झा समानुपातिकतर्फबाट सांसद थिए भने महतो प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसपालि रास्वपाको प्रवेशले धनुषा ३ मा मधेशको राजनीतिमा थप उत्साह थपेको छ । गत आम निर्वाचनलाई फर्केर हेर्दा यस निर्वाचन क्षेत्रमा कांग्रेस बलियो शक्तिको रूपमा रहेको देखिन्छ । गत निर्वाचनमा प्रत्यक्षमा एमालेकी महतोले जित निकालेपनि समानुपातिक मतमा कांग्रेसको प्रभावशाली लिड रहेको देखिन्छ ।
यस क्षेत्रमा समानुपातिक तर्फ कांग्रेसले २५ हजार १९५ मत प्राप्त गरेको थियो । एमालेले दोस्रो हुँदै १७ हजार ८७४ मत ल्याएको थियो । रास्वपाले १ हजार ८२९ मत ल्याएर आठौं स्थान प्राप्त गरेको थियो ।
स्थानीय मतदातासमेत रहेका विश्लेषक साहका अनुसार यहाँको निर्वाचन मतदाताको विवेकशील निर्णयमा आधारित हुने अपेक्षा छ । पुराना सांसद र युवा नेताबीचको प्रतिस्पर्धाले यहाँको राजनीति मतदाता केन्द्रित रहने साहले बताए ।
रौतहटमा नेपाल र झाको भीडन्त
रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपाल र कांग्रेसका अनिल झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपा एमालेका पूर्वमहासचिव समेत रहेका र एमालेबाटै प्रधानमन्त्री समेत भएका नेपाल पछिल्लो समय नेकपा माओवादी केन्द्रसँग एकता गर्दै रौतहटबाट सिंहदरबारको टिकट पक्का गर्ने दाउमा छन् । उनी यसभन्दा अगाडि नेपाललाई काउन्टर गर्ने झा पनि नेपाल सद्भावना पार्टी, राजपा नेपाल हुँदै मनोनयनभन्दा केही समय पहिले कांग्रेस प्रवेश गरेर टिकट पाएका नेता हुन् ।
मधेशको समग्र राजनीतिक परिदृश्य
मधेश क्षेत्रको निर्वाचनले पुराना नेता र नयाँ नेतृत्व, पार्टी, शीर्ष नेताहरू र भावी प्रधानमन्त्रीका दाबेदारहरूलाई आमनेसामने ल्याएको छ । सर्लाही, सप्तरी, धनुषा र रौतहट क्षेत्रमा यसपटक भेट्रान उम्मेदवारहरू मैदानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्वमन्त्री राजेन्द्र महतोले पनि यसै प्रदेशबाट आफ्नो राजनीतिक भविष्य खोज्दैछन् ।
विशेषतः सर्लाही ४ र सर्लाही २ मा पुराना र नयाँ नेतृत्वको भीडन्तले मतदातामा उत्साह बढाएको मधेशका अर्का जानकार डा. शिवशंकर यादवले जानकारी दिए । सप्तरी २ र धनुषा ३ मा सहकर्मी तथा निवर्तमान सांसदबीचको द्वन्द्वले प्रतिस्पर्धालाई अझ रोचक बनाएको उनको दाबी छ । डा. यादवका अनुसार मधेश क्षेत्रको परिणामले आगामी संघीय सरकार गठनमा महत्वपूर्ण असर पार्ने सम्भावना छ ।