काठमाडौं । फागुन २१ मा हुने निर्वाचनको माहोल देशभर उत्कर्षमा पुगेको भए पनि हिमाली जिल्ला मुस्ताङमा भने चुनावी सरगर्मी लगभग शून्यजस्तै देखिएको छ । निर्वाचन मुस्ताङमा हुने भएपनि मुस्ताङको चुनावी चहलपहल भने जिल्ला बाहिर रहेको छ ।
माथिल्लो मुस्ताङ त हिमपातका कारण अहिले करिब जनसंख्याविहीनजस्तै रहेको छ भने तल्लो मुस्ताङमा पनि पछिल्लो समय हिमपातले गर्दा निर्वाचन चहलपहल रोकिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
जिल्लामा ८ राजनीतिक दलले उम्मेदवारी दिएपनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने स्थानीयहरू बताउँछन् । यस निर्वाचनमा नेकपा एमालेले इन्द्रधरा विष्ट र नेपाली कांग्रेसले योगेश गौचन थकालीलाई मैदानमा उतारेको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ङुटुक गुरुङ र अधितिय चन्द्र थकालीलाई उम्मेदवार बनाउँदा कमला लालचनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवार बनाएको छ । अजय विक आम जनता पार्टी, सुरेन्द्र नेपाल उज्यालो नेपाल पार्टी र यमबहादुर गुरुङ मंगोल नेशनल अर्गनाइजेसनबाट उम्मेदवार बनेका छन् ।
जिल्लामा आठ दलका उम्मेदवार रहेपनि निर्वाचन माहोल भने सुस्त रहेको छ । जिल्लाको निर्वाचन प्रचार अहिले जिल्ला बाहिर भइरहेको छ । नेपाली कांग्रेसका उम्मेदवार थकाली काठमाडौंमा रहेका छन् । थकाली मुस्ताङमा अझै निर्वाचन सुरु नभएको बताउँछन् ।
‘यो समय माथिका मानिस तल झर्ने सदियौंदेखिको नियमित प्रक्रिया हो । अहिले जिल्लामा हिउँ परिरहेको छ । त्यसैले आफन्त सबै तल रहेकाले भेटघाट पनि तलतिरै हुनु स्वाभाविक हो,’ थकालीले भने ।
एमाले उम्मेदवार इन्द्रधारा विष्ट अहिले पोखरामा रहेका छन् । विष्ट भन्छन्, ‘हामी उम्मेदवारभन्दा पहिले आफन्त हौं । आफन्त जहाँ हामी त्यहाँ हुनु स्वभाविक हो । हामीलाई अझै निर्वाचन लागेको छैन ।’
भौगोलिक रूपमा विकट र धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले अन्य जिल्लाभन्दा फरक पहिचान बोकेको मुस्ताङमा चुनावी माहोल हत्तपत्त सिर्जना नहुने स्थानीयहरू बताउँछन् । कम जनसंख्या, पर्यटनमुखी जीवनशैली र समुदायको आफ्नै व्यस्तताका कारण यहाँ निर्वाचनलाई अन्य जिल्लाजस्तो ठूलो महत्त्व नदिने प्रवृत्ति रहेको बताउँछन् लोमाङथान गाउँपालिकाका अध्यक्ष टासी नोर्वु गुरुङ ।
नेपाली कांग्रेसका उम्मेदवार गौचनका अनुसार मुस्ताङमा एउटै प्रकृतिको समुदाय, पृथक भूगोल, न्यून जनसंख्यासँगै यहाँको मौसमले चुनावी चहलपहल हुन नसकेको हो ।
लोमाङथाङका अध्यक्ष टासी पनि गौचनसँग सहमत छन् । उनी भन्छन्, ‘दलभित्र आन्तरिक खिचातानी कम र विवादरहित वातावरण भएका कारण चुनावी माहोल सिर्जना हुन नसकेको हो । हाम्रो भूगोल र प्रकृतिले पनि अहिले भूगोलमै गएर चुनाव प्रचार गर्ने वातावरण नबनेको हो ।’
यता नेकपा एमालेका उम्मेदवार विष्टले पार्टी अहिले आन्तरिक तयारीमै केन्द्रित रहेको जानकारी दिए । उनले भने, ‘हामीले आन्तरिक छलफल गरिरहेका छौं । तत्काल औपचारिक चुनावी कार्यक्रम छैन ।’
निर्वाचन मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय, मुस्ताङले भने आवश्यक प्रशासनिक तयारी तीव्र पारेको जनाएको छ । कार्यालय प्रमुख ज्ञवालीका अनुसार मतदान केन्द्रको अनुगमन तथा सुपरिवेक्षणका साथै मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरिएको छ ।
फागुन लागेपछि उक्लने
उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका करिब ८० प्रतिशत स्थानीय बासिन्दा कडा जाडोका कारण बेंसी झरेका छन् । छोसेरका छेप्टेङ गुरुङ, वङ्दी गुरुङ र टस्सी गुरुङजस्ता स्थानीयहरू जाडो छल्न जिल्लाबाहिर गएका भए पनि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न गाउँ फर्किने तयारीमा छन् ।
स्थानीयवासीहरूले यस निर्वाचनलाई भविष्य निर्माणसँग जोडेर हेरेका छन् । स्थानीय वङ्दी गुरुङ भन्छन्, ‘उम्मेदवारको विगतको कामको मूल्याङ्कन गरेर मात्र भोट हाल्ने हो । थोरै मतदाता भएकाले उम्मेदवारहरू स्वयं मतदाता खोज्दै आउन थालेका छन् ।’
निर्वाचन नजिकिँदै जाँदा जाडो छल्न गएकासँग राजनीतिक दलका नेताहरू अनौपचारिक भेटघाटमा सक्रिय हुने तयारीमा रहेका छन् । कांग्रेसका गौचन र एमालेका विष्ट दुवैले अव भेटघाटमा औपचारिक रूपमा लाग्ने तयारीमा रहेको बताएका छन् ।
निर्वाचन २०७९ लाई फर्केर हेर्दा
विसं २०७९ सालमा प्रत्यक्ष निर्वाचनतर्फ नेपाली कांग्रेसका योगेश गौचनले ३ हजार ९९२ मत ल्याई चुनाव जितेका थिए । पाँच दलीय गठबन्धनका गौचनलाई एमालेका प्रेमप्रकाश तुलाचनले ३ हजार ७४ मत प्राप्त गरी पछ्याएका थिए भने रास्वपाका उम्मेदवार सुदेश गुरुङले ८७ मत ल्याएका थिए ।
समानुपातिकतर्फ भने एमालेले पहिलो र कांग्रेसले दोस्रो लोकप्रिय महत पाएको थियो । एमालेले ३ हजार ४०४ मत ल्याउँदा कांग्रेसले २ हजार ४८६ मत ल्याएको थियो । रास्वपाले समानुपातिकतर्फ २९९ मत प्राप्त गरेको थियो ।
जिल्लामा ३९ मतदान केन्द्र रहेका छन् भने कुल १० हजार ९ सय ५७ जना मतदाता रहेका छन् । मुस्ताङमा स्थानीय तह निर्वाचनका लागि २ सय ३२ जना म्यादी प्रहरी तथा सोही अनुपातमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।