धनकुटामा राईबीच कडा प्रतिस्पर्धा, कांग्रेस र एमालेलाई प्रतिष्ठाको लडाइँ

राजेन्द्र राई र दिनेश राई ।

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । हाल उनीहरू मतदाताको घरदैलोमा गई मतदातासँग भोट मागिरहेका छन् । धनकुटामा पनि चुनावी चहलपहल बढ्दै गइरहेको छ । एकमात्र क्षेत्र रहेको यस जिल्लामा नेपाली कांग्रेसबाट दिनेश राई उम्मेदवार बनेका छन् । उनी कांग्रेस जिल्ला सभापति पनि हुन् ।

धनकुटामा कांग्रेसको तर्फबाट शक्तिशाली दाबेदार मानिएका सुनिलबहादुर थापा राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएपछि राईले टिकट पाएका हुन् । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका थापा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए । जबकि २०७० को निर्वाचनमा तिनै राईलाई पराजित गर्दै थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित भएका थिए । 

थापा राप्रपाका तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् । पिताको विरासत थाम्न नसकेर उनी नेपाली कांग्रेसमा समाहित भएका हुन् ।

कांग्रेसबाट टिकट पाएका राई धनकुटा तरुण दलको पूर्वअध्यक्ष, धनकुटा क्याम्पसको नेविसंघ पूर्वसभापति र महाधिवेशन प्रतिनिधिसमेत हुन् । यसपालि कोशी प्रदेशबाट नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अगुवाइ पनि उनै राईले गरेका थिए । 

राई धनकुटा कांग्रेसमा आफ्नो बेग्लै पहिचान बनाउन सफल छन् । पार्टीभित्र फरक विचार र विरोधी स्वभाव भएकैले उनी धनकुटाको भूगोलमा भिजेका छन् । आगामी निर्वाचनमा आफ्नो पक्षमा मत पार्ने गरी उनी हाल घरदैलो अभियानमा पुगिसकेका छन् ।

कांग्रेसले फ्रेस र विवादरहित उम्मेदवार उठाएकाले निर्वाचित हुन सक्ने स्थनीय बताउँछन् । कांग्रेसका उम्मेदवार राईले पनि आफूले सहजै जित हासिल गर्ने बताए । ‘हाम्रो प्रतिस्पर्धा नेकपा एमालेसँग हो । नयाँ वा पुरानो कुनै दलसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन मात्र एमालेसँग हो,’ उनले भने ।

गत निर्वाचनमा वाम गठबन्धनको विरुद्धमा बागी उम्मेदवार खडा गरिएकाले पनि कांग्रेसको उम्मेदवार पराजित भएको उनको भनाइ छ । यसपटक सबै दलका सिंगल-सिंगल उम्मेदवार उठेकाले कांग्रेसले जित हासिल गर्ने उनको दावी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत निर्वाचनमा धेरै मत लिए पनि आफ्नो जित सुनिश्चित रहेको राईले जिकिर गरे । 

नेकपा एमालेले भने दुई पटक विजयी भइसकेका उम्मेदवार राजेन्द्र राईलाई उठाएको छ । राई धनकुटाबाट तीन पटक चुनाव लडिसकेका नेता हुन् । २०७० को संविधान सभा निर्वाचनमा पराजित भएपनि उनले २०७४ र २०७९ को निर्वाचनमा जित हासिल गरेका थिए । गत निर्वाचनमा राईले ३० हजार १०१ मत प्राप्त गरेका थिए ।

राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत भइसकेका छन् । धनकुटाको मतदातालाई रिझाउन सकेकै कारण उनी दुई पटक निर्वाचित भएका हुन् ।

राई २०४७ सालमा अनेरास्ववियूको धनकुटा अध्यक्ष थिए । एमालेका तर्फबाट २०४९ मा तत्कालीन जिल्ला विकास समिति सदस्य बनेका उनी २०५४ मा जिविस उप-सभापतिसमेत भएका थिए । 

२०६४ पछि तीन पटक गरी करिब १३ वर्ष जिल्ला अध्यक्ष भएर पार्टीमा काम गरेको अनुभव राईसँग छ । राईले निर्वाचित भएर गएपछि विकासका काम धेरै गरेकाले उनीप्रति धेरै मतदाताहरू आशावादी रहेकाे एमालेका नेताहरू बताउँछन् । 

तर कर्मचारीवृत्तमा भने राईको छवि राम्रो देखिँदैन । दुई वर्षअघि उनले पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए । राईले पौडेलको अस्तित्व समाप्त पारिदिने धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।

यद्यपि पार्टीले उनै राईलाई पुनः टिकट दिएको छ । उनी अहिले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।

राईलाई तेस्रोपटक विजयी गराउन धनकुटा एमालेले वडा-वडामा निर्वाचन कमिटी बनाएर प्रचारप्रसार अभियान सुरु गरिसकेको एमाले धनकुटा जिल्ला कमिटीका अध्यक्ष शिव आङ्ला लिम्बु बताउँछन् । एमालेको उम्मेदवारले हार्नुपर्ने कुनै कारण नभएको उनले दाबी गरे । 

‘अन्य राजनीतिक दलका कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गर्न थालिसकेका छन् । राम्रो उम्मेदवार भएकैले अरू दलका कार्यकर्ता एमालेमा आकर्षित भएका छन्,’ अध्यक्ष लिम्बु भन्छन्, ‘जिल्लाभरका अधिकांश मतदाताहरू हाम्रो उम्मेदवारप्रति सकारात्मक छन् । हाम्रो उम्मेदवार विजयी हुनेमा सतप्रतिशत ढुक्क छौं ।’

गत निर्वाचनमा अन्य दलले गठबन्धन गर्दा पनि जित्न सफल भएको उनले स्मरण गराए । 

‘फागुन २१ गते हुने निर्वाचनमा सबै दलका उम्मेदवारहरू सिंगल-सिंगल चुनावी मैदानमा छन् । सहजै विजयी हासिल गर्नेमा हामी विश्वस्त छौं,’ उनले प्रस्ट पारे ।

एमालेको उम्मेदवारसँग प्रतिस्पर्धा गर्न अन्य दलका उम्मेदवार नभएको लिम्बुले जिकिर गरे ।

‘हाम्रो प्रतिस्पर्धा भयो भने कांग्रेसको उम्मेदवारसँग मात्र हुन्छ । नयाँ दलका कुनै पनि उम्मेदवारसँग प्रतिस्पर्धा हुन्न । हामीसँग प्रतिस्पर्धा गर्ने कुनै पनि योग्य उम्मेदवार देखा परेका छैनन्,’ उनले सुनाए ।

रास्वपाको तर्फबाट उम्मेदवार दिनेश भण्डारी छन् । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले धनकुटामा उम्मेदवार उठाएको थिएन । 

धनकुटा रास्वपाका सभापति बालानन्द दाहालले पार्टीले तोकेको उम्मेदवारीलाई विजयी बनाउने गरी चुनावी प्रचारप्रसार गरिरहेको बताए । मतदाताको प्रतिक्रिया सकारात्मक पाइएकाले रास्वपा उम्मेदवारले राम्रो मत प्राप्त गर्न सक्ने उनको बुझाइ छ ।

‘मतदातालाई पटक-पटक झुक्याउने काम भएको छ,’ उनले भने, ‘पुराना दलले मतदातालाई झुक्याएको कारण हाम्रो दलप्रति धेरै मतदाताहरू सकारात्मक रहेका छन् ।’

‘रास्वपासँग ठूला दलका उम्मेदवारहरू आत्तिएका छन् । हाम्रो उम्मेदवारको प्रतिस्पर्धा ठूला दलसँग हुनेछ,’ उनको दाबी छ ।

क-कसले दिए उम्मेदवारी ?

नेकपा एमालेबाट राजेन्द्र राई, नेपाली कांग्रेसबाट दिनेश राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, जनता समाजवादी पार्टीबाट निशान राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविवन कुमार राई, जनता समाजवादी पार्टी नेपालबाट आइतराज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई, मंगोल नेशनल अर्गनाइजेशनबाट सागर राईले उम्मेदवारी दर्ता गराएका छन् ।

मनकुमार योञ्जन, जीतेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । ११९ वटा मतदानस्थल र १६६ वटा मतदान केन्द्र रहेको छ । 

Share News