सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंलाई प्रश्न– झापामा सुरक्षा चुनौती बढेकै हो ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, झापाले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल या उम्मेदवारलाई जुलुस र घरदैलो नगर्न निर्देशन दियो । फागुन ३ गतेसम्म कुनै राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस तथा आमसभा गर्न नपाउने भएका छन् । यही सिलसिलामा झापामा निर्वाचनको माहोल बढिरहँदा जुलुसजस्ता अन्य गतिविधि गर्न नपाउने भएपछि विकासन्युजले झापाका सहायक जिल्ला प्रमुख अधिकारी तेज प्रकाश प्रसाईंसँग गरेको संक्षिप्त संवाद गरेको छ ।

अहिले पनि झापाका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारहरू बिहानदेखि मतदातासँग भेटघाट गरिरहनु भएको छ ?

निर्वाचन आयोगले सबै राजनीतिक दलका उम्मेदवारसँग निर्वाचन आचार संहिताको विषयलाई लिएर पर्याप्त छलफल गरेको थियो । तर राजनीतिक दलले निर्वाचन आचारसंहिता पालना नगरेकाले जिल्ला प्रशासन कार्यालयले बाध्य भएर विज्ञप्ति निकाल्नु परेको हो । झापा जिल्लाको चुनावी माहोल हेर्दा सुरक्षाको दृष्टिकोणले अलिक संवेदनशील जस्तो देखिएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनशीले मतदानस्थलसमेत बढेका छन् । यसरी विज्ञप्ति निकाल्नुमा हामीले कसैलाई अवरोध गर्नु होइन । दलले गरेको वाचाहरू पुरा गर्नलाई स्मरण मात्र गराएका हौं ।

उम्मेदवारहरूको सुरक्षा र गर्न नसकेकाले नै जुलुस तथा घरदैलो कार्यक्रम रोक्न निर्देशन दिनु भएको हो ?

निर्वाचनका लागि दलका उम्मेदवारले प्रारम्भिक घरदैलो सुरु गरिसकेका छन् । धेरै स्थानीयले विभिन्न दलका उम्मेदवारले घरदैलो अभियान चलाइसकेको भनेर खबर गर्ने गरेका छन् । यहाँ त्यस्तो छिटफुट घटना घटेमा हामी जिम्मेवार हुँदैनौं भनेर फोनमार्फत जानकारी गराउने कार्य भइरहेको छ । बाटो छेकेर सभा वा भेला गर्ने गरेको सुरक्षाको संवेदनशीलतालाई ख्याल गरेर हामीले सुरक्षा संवेदनशीलतालाई ध्यान दिएका हौं ।

निर्वाचन आचारसंहितालाई देखाएर उम्मेदवारको स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकार रोक्न मिल्छ र ?

उम्मेदवारलाई हामीले स्वतन्त्र रूपमा हिँडडुल गर्न रोकेका छैनौं । विभिन्न दलका उम्मेदवारलाई निर्वाचन आयोगले दिएको निर्देशनअनुसार मात्र काम गर्नलाई निर्देशन दिएका छौं । दलले जारी गरेको घोषणापत्र निर्वाचन आयोगको निर्वाचन अधिकृत कार्यालयमा बुझाएपछि मात्र उम्मेदवारले घरदैलो गर्न पाउँछन् । धेरै उम्मेदवारहरूले अहिले घरदैलो कार्यक्रम गर्न थालिसक्नु भएको छ । हामीले निर्वाचन आचारसंहिता मात्र पालना गर्न भनेका छौं । दलले आफ्नो पार्टीको कमिटी गठन गर्न विभिन्न भेटघाट गर्न पाउने छन् । दलका सामान्य भेटघाटलाई हामीले रोक्न मिल्दैन । 

झापामा सुरक्षा चुनौती बढेकै हो ?

निर्वाचनको सुरक्षालाई लिएरमा झापामा जोखिम बढेकै छ । कता–कता दलको गतिविधिलाई लिएर हामीले अलिक शंकास्पद दृष्टिले हेरिरहेका छौं । सुरक्षालाई हामीले एकदमै ध्यान दिएका छौं । निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न र भयरहित वातावरणमा होस भनेर हामीले अगाडिबाट सचेत गराएका छौं । यसपालिको निर्वाचनमा झापामा अति संवेदनशील मतदानस्थलको संख्या वृद्धि भएको छ । सम्भावित दुर्घटना हुन नसकोस भनेर हामीले विभिन्न सुरक्षाका रणनीति अपनाएका छौं । निर्वाचनमा सहभागी दललाई संयमित हुन पनि आग्रह गरिरहेका छौं ।

झापामा २८५ वटा मतदान स्थल र ८१५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान स्थल ४३, संवेदनशील १४७ र अति संवेदनशील ९५ मतदानस्थल रहेका छन् ।

Share News