काठमाडौं । दैलेखमा आगामी वैशाख ७ गतेदेखि १९ गतेसम्म प्रादेशिक महोत्सव आयोजना हुने भएको छ । ‘कृषि, उद्यम, पर्यटन र व्यापार समृद्ध दैलेखको आधार’ भन्ने नारासहित आयोजना हुने महोत्सवबारे जानकारी दिन बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरिएको हो ।
महोत्सवमा कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका स्थानीय उत्पादन, पर्यटकीय क्षेत्र तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । नेपाल उद्योग वाणिज्य संघ दैलेखका पूर्वअध्यक्ष एम मल्लका अनुसार महोत्सवमा कर्णालीको पहिचान झल्कने १८० वटा स्टल रहनेछन्, जसमध्ये ३० वटा स्टल स्थानीय उत्पादनका लागि छुट्याइएका छन् ।
उनका अनुसार महोत्सवमा करिब ५ लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । दैलेखका विभिन्न कला, संस्कृति, झाँकी तथा नृत्य प्रस्तुत गरिनुका साथै स्थानीय उत्पादन र सम्भावनायुक्त क्षेत्रको पहिचान गरी लगानी भित्र्याउने लक्ष्य लिइएको उनले बताए ।
संघका पूर्वअध्यक्ष शान्ति प्रसाद शर्माले महोत्सवमार्फत दैलेखको सम्पदा, संस्कृति, परम्परा, पर्यटन र इतिहासबारे जानकारी दिइने बताए । कृषि, जलविद्युत् र पर्यटनका हिसाबले महत्वपूर्ण जिल्ला दैलेखको विकासका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
उनले दैलेखमा सुन, तामा लगायतका खानी रहेको उल्लेख गर्दै तिनको उत्खनन गर्न सकिए जिल्लाको आर्थिक विकासमा ठूलो परिवर्तन आउने बताए । पेट्रोलियम खानी पुष्टि भइसकेको अवस्थामा त्यसको उत्खनन र प्रयोगतर्फ सरकारले ध्यान दिनुपर्ने उनको माग छ ।
बाह्य लगानी भित्र्याउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै शर्माले जिल्लाका उद्योगी व्यवसायीको मात्रै लगानीले विकास सम्भव नहुने बताए । पेट्रोलियम उत्खननको काम अघिल्लो सरकारले सुरु गर्ने बताए पनि हाल अलपत्र परेको भन्दै त्यसमा सरकारको ध्यानाकर्षण गराए ।
दैलेखी सेवा समाजका अध्यक्ष प्रताब शाहीले दैलेखको जीवनशैली, भूगोल, भाषा, संस्कृति र भेषभूषाले राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण योगदान दिएको बताए । उनले जिल्लाको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे ।
समाजका सचिव सूर्य बस्नेतले जिल्लाको आर्थिक विकास र औद्योगिक नेतृत्वमा उद्योग वाणिज्य संघले अग्रसरता लिनुपर्ने बताए । पेट्रोलियम उत्खनन गर्न सकिए दैलेख मात्र नभई देशकै आर्थिक अवस्था परिवर्तन हुन सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा कोटेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक विनोद अधिकारीले महोत्सव सफलताको शुभकामना दिँदै पर्यटन, कला र संस्कृतिको जगेर्नामा जोड दिए । फोटो पत्रकार तथा मनधरी फाउन्डेसनका अध्यक्ष भरतबन्दु थापाले राज्यले भाषाको उत्पत्ति भएको क्षेत्रलाई नै पछि पारेको उल्लेख गर्दै महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।
राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले दैलेख सम्भावनायुक्त जिल्ला भएकाले सबै मिलेर जिल्लाको विकास र समृद्धिमा लाग्नुपर्ने बताइन् ।